सबैभन्दा ठूलो तेल कम्पनी अरामकोको आम्दानी ४४.४% ले घटे पनि ८७ खर्ब लाभांश दिने
विश्वको सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरामकोले सेयरधनीलाई ७५ बिलियन अमेरिकी डलर अर्थात् करिब ८७ खर्ब रुपैयाँ लाभांश दिने भएको छ ।
कोरोना महामारीका कारण कम्पनीको नाफा सन् २०२० मा ४४.४ प्रतिशतले घटे पनि कम्पनीले उक्त लाभांश घोषणा गरेको हो । कम्पनीले सन् २०२० मा ४९ बिलियन डलर खुद नाफा गरेको थियो । जबकी कम्पनीले सन् २०१९ मा ९९.१९ बिलियन डलर नाफा कमाएको थियो ।
कोरोना महामारीका कारण विश्व तेल बजारमा तेलको मूल्य घटेको थियो । साउदी स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीको आम्दानी ३०.५ प्रतिशतले घटेर ७८६.११ बिलियन सायदी रियाल पुगेको थियो ।
सन् २०२० मा अरामकोले हाइड्रोकार्बन उत्पादन औसतमा प्रतिदिन १२.४ मिलियन प्यारेल उत्पादन गरेको थियो । यसका साथै कम्पनीले दैनिक ९.२ मिलियन प्यारेल कच्चा तेल उत्पादन गरेको थियो ।
कोरोना महामारीका कारण विश्वभर लकडाउन भएका कारण तेलको माग कम भइ उत्पादनमा कमी आएको थियो ।
तत्कालीन समयमा उत्पादनमा कटौती गरेका तेल उत्पादन देशहरुले हालसम्म पनि पूर्ण क्षमतामा उत्पादन गरेका छैनन् । जसका कारण विश्व बजारमा तेलको मूल्य निकै आकासिएको छ ।