सरकारले चासो नदेखाउँदा बीमावापतको साढे ६ अर्ब रकम भुक्तानीमा समस्या



काठमाडौं । हाल कोरोना दावी भुक्तानीको दायित्व सरकारमा छ । तर सरकारले आफ्नो दायित्व बहनमा चासो नदेखाउँदा बीमितले भुक्तानी पाउन समस्या सिर्जना भएको छ ।

कोरोना दावी भुक्तानीको दायित्व बहनको सम्झौताअनुसार दावी रकमको पहिलो १ अर्ब रुपैयाँसम्म पूलअन्तर्गत, त्यसपछि १ अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्मको दायित्व नेपाल पुनर्बीमा कम्पनीमा र त्यसपछि २ अर्ब रुपैयाँदेखि २ अर्ब ५० करोड रुपैयाँसम्मको दायित्व बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट बहन गर्ने व्यवस्था छ ।

साथै २ अर्ब ५० करोड रुपैयाँमाथिको दावी भुक्तानीको दायित्व ३ अर्ब ५० करोडसम्मको बीमा समितिले र त्यसभन्दा माथिको दावी भुक्तानीको सम्पूर्ण दायित्व सरकारले बहन गर्ने व्यवस्था छ ।

हालसम्म ४ अर्ब ६६ करोड ३० लाख रुपैयाँ कोरोना दावी वापत बीमितले भुक्तानी पाइसकेको बीमा समितिले जानकारी दिएको छ । जसमध्ये ३ अर्ब ५० करोड रुपैयाँ बीमा समिति, नेपाल पुनरबीमा कम्पनी र बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट भुक्तानी भएको हो ।

यसबाहेक पनि अझै ६५ हजार जना बीमितिले गरेको कोरोना दावीवापत ६ अर्ब ५० करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको नेपाल बीमक संघका महासचिव चंकी क्षेत्रीले बताए । जसको भुक्तानीको लागि पुलमा रकम नभएको हुँदा सरकारको तर्फबाट सो रकम प्राप्त नभएसम्म बक्यौता दावी भुक्तानी नहुने उनले बताए ।

‘सम्झौता अनुसार अब कोरोना दावी भुक्तानीको दायित्व बहन सरकारले गर्नुपर्ने हो,’ उनले क्लिमाण्डूसँग भने, ‘यसअघि प्राप्त भएको रकम सबै कम्पनीहरुमा वितरण भइसकेको छ, अब थप भुक्तानीका लागि पुलमा पैसा छैन, सरकारबाट प्राप्त भएपछि मात्र भुक्तानी हुन्छ ।’

नेपाल पुनर्बीमा कम्पनी र बीमा समितिबाट भागमा परेको दायित्व वापतको रकम प्राप्त हुनुपुर्व नै कम्पनीहरुले आफ्नै खर्चमा दावी भुक्तानी गरेको थियो । सोही कारणले पहिले नै भुक्तान भइसकेको रकमको हिसाब मिलन गराइ पुलबाट कम्पनीहरुमा समिति र पुनरबीमाबाट प्राप्त रकम पठाइएको उनले जानकारी दिए ।

‘अब पुलमा सरकारबाट जहिले दावी भुक्तानीको रकम प्राप्त हुन्छ तब मात्र बीमितलाइृ वितरण गर्ने काम शुरु हुन्छ,’ उनले थपे, ‘यसकालागि पुलबाट सरकारसँग पहल गर्न समितिसँग भनेका छौ, समितिले कोरोना बीमामा हालसम्म प्राप्त रकम र खर्चको विवरण पेश गर्न निर्देशन दिएको छ ।’

पुलले सबै कम्पनीहरुबाट कोरोना बीमामा प्राप्त रकम र त्यको खर्चको विवरण माग गरी प्रतिवेदन तयार गरिसकेको हुँदा आइतबारसम्म सो प्रतिवेदन समितिमा पठाइने उनले जानकारी दिए ।

समिति भन्छ- हालसम्म सरकारलाई दायित्वबारे जानकारी गराइएको छैन
बीमा समितिले गत फागुन दोस्रो साता नै आफ्नो दायित्व बराबरको रकम पुलको कोषमा पठाइसकेको छ । त्यसको केही दिनमा नै समितिले सरकारबाट लिनुपर्ने दावी वापतको रकम लिने प्रक्रियाका लागि तयारी गर्न पुलमा भनेको थियो ।

समितिले पुलमा हालसम्म कोरोना बीमामा संकलित प्रिमियम, समिति र नेपाल पुनर्बीमा कम्पनीबाट प्राप्त रकम र दावी भुक्तानी विवरणका साथै वक्यौता दावी भुक्तानीमा सरकारको दायित्व सहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।

पुलमा सम्पूर्ण विवरण तयार परी पेश गर्न निर्देशन दिएपनि सरकारमा कोरोना दावी भुक्तानीको दायित्वबारे भने हालसम्म जानकारी नगराइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘कोरोना बीमामा बाँकी दावी भुक्तानीको दायित्व सरकारमा गएको छ, सरकारसँग दायित्व अनुसारको जिम्मेवारी बहन गरी पुलमा रकम पठाउन समितिले समन्वय गर्छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘तर हालसम्म सरकारका सम्बन्धित निकाय (अर्थ मन्त्रालय) मा भने दायित्व बहनबारे औपचारिकरुपमा जानकारी गराइएको छैन ।’

पुलबाट प्रतिवेदन प्राप्त भएपछि एकै पटक प्रतिवेदन सहित अर्थ मन्त्रालयमा जानकारी गराइने उनले जानकारी दिए । अर्थ मन्त्रालयमा कोरोना बीमाको दैनिक विवरण समितिले पाठइरहेको हुँदा सरकारको दायित्वबारे मन्त्रालय जानकार नै रहेको उनको भनाइ छ ।


क्लिकमान्डु