नागरिक एपबाट प्यान लिनै मुस्किल, एपबाट साढे ४ प्रतिशतले मात्रै लिए



काठमाडौं । सरकारले विद्युतीय शासन अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई सहजताका लागि बनाउनका लागि लागि गत माघ १ गतेदेखि ‘नागरिक एप’ सञ्चालनमा ल्याए पनि प्रभावकारी हुन सकेको छैन ।

सरकारले नागरिक एपमार्फत् नै सहज ढंगले स्थायी लेखा नम्बरलगायतका विभिन्न सेवा उपयोग गर्न मिल्ने दावी गरे पनि सोको उपयोग आम सर्वसाधारणले पूर्णरुपमा उपयोग गर्न सकेको देखिन्न ।

सरकारले नागरिक एपमार्फत् प्यानको व्यवस्था गरेपछि भौतिक प्यानभन्दा पेपर लेस प्यान लिने संख्या बढ्ने अपेक्षा गरिएको थियो । तर अपेक्षा गरिएको भन्दा न्यून मात्रामा नागरिक एपमार्फत् पेपर लेस प्यान लिइएको आन्तरिक राजश्व विभागका उपमहानिर्देशक मुक्ति प्रसाद पाण्डेले बताए ।

‘नागरिक एपमा प्यानको व्यवस्था गर्दा भौतिकरुपमा प्यान लिने संख्या घटेर पेपरलेस प्यान लिने बढ्ने अपेक्षा गरिएको थियो,’ उनले क्लिकमाण्डूसँग भने, ‘एपमा प्यान राख्नुको उदेश्य पनि नागरिकता नम्बर राखेर प्यान नम्बर कर कार्यलय नपुगेर पेपरलेस प्यान नागरिकले लिन सकुन भन्ने हो ।’

आन्तरिक राजस्व कार्यालयको तथ्यांक अनुसार हालसम्म कुल ३८ लाख २५ हजार ९४६ जनाले प्यान नम्बर लिएका छन् ।

जसमा व्यवसायीक प्यान १५ लाख १८ हजार ९३३ जनाले र व्यक्तिगत प्यान लिनेको संख्या २२ लाख ९९ हजार ३०९ छ । साथै, करकट्टी गर्ने निकायले ७ हजार ७०४, भ्याट प्यान २ लाख ७८ हजार ६२४ र अन्तशुल्क प्यान संख्या १ लाख ७ हजार ८४५ पुगेको छ ।

तर नागरिक एपमार्फत् प्यान लिनेको संख्या भने अपेक्षाकृतरुपमा वृद्धि हुन सकेको छैन ।

सरकारले नागरिक एप माघ १ गतेबाट सञ्चालनमा ल्याएको थियो । जसको प्रयोग गरी अब कार्यालय नगइ मोबाइल एपमार्फत् नागरिकता नम्बरका आधारमा व्यक्तिगत प्यान नम्बर लिन सक्ने व्यवस्था गरेको थियो ।

जसमा सरकारले अब व्यक्तिगत प्यान नम्बर लिनका लागि कार्यालय धाउन नपर्ने र करको दायरामा आउने नागरिकको संख्या समेत वृद्धि हुने दावी गरेको थियो ।

नागरिक एप सञ्चालनमा आएयता दुई महिनामा कुल १ लाख २९ हजार ८२९ जनाले व्यक्तिगत प्यान लिएका छन् । जसमध्ये नागरिक एपमार्फत् जम्मा ४.५८ प्रतिशत अर्थात् ५ हजार ९५६ जनाले मात्रै प्यान लिएको आन्तरिक राजस्व विभागका सूचना अधिकारी अर्जुन ढकालले जानकारी दिए ।

‘एपमा १०/१२ वर्ष पुरानो नागरिकता नम्बर नभेटिने, मतदाता परिचयपत्र नभएकाले प्यान लिन नमिल्ने लगायन नागरिकता नम्बर नै नभेटिने हुँदा एपको आकर्षण नै सो अनुसार देखिएको छैन्’ उनले थपे ‘एपबाट व्यक्तिगत प्यान लिनेभन्दा विभागको वेवसाइटबाट लिने धेरै छन्, एपबाट भन्दा विभागको वेव साइटबाट प्यान लिन सजिलो भएको प्रक्रिया समेत करदाताबाट आएको छ,’ उपमहानिर्देशक पाण्डेले भने ।

नागरिक एपमा ‘सिंक’ गरिएको नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्रको विवरण र प्यान लिनका लागि करदाताले दाखिला गर्ने व्यक्तिगत विवरण प्रमाणित नहुँदा एपमार्फत् प्यान लिन नागरिकमा आर्कषक घटेको उनको भनाइ छ ।

१०/१५ वर्ष अघिसम्म विभिन्न स्थानीय निकायमा कम्प्युटर प्रणाली नभएर ढड्डामा यस्ता विवरण राखिएको हुँदा पुराना नागरिकताको विवरण एपमा सिंक नभएको उनको भनाइ छ ।

साथै, प्यान नम्बर लिने तिनै पुराना नागरिकता वाहक हुने भएकाले समेत एपमार्फत् उनीहरुलाई प्यान लिन नमिलेको उनको भनाइ छ ।

गृहमन्त्रालयसँग दुई करोड १५ लाख नागरिकको नागरिकताको विवरण छ । औठा छाप र डिजिटल फोटोसहित निर्वाचन आयोगसँग एक करोड ५५ लाख मतदाताको विवरण छ भने करिब ६५ लाखभन्दा बढी नागरिकको पासपोर्टको विवरण राहदानी विभागसँग छ ।

यी तीन वटै निकायसँग रहेका नागरिकहरुका सबै विवरणलाई नागरिक एपसँग सिंक गरिएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालय उक्त समय जनाएको थियो ।


क्लिकमान्डु