आयात बढेपछि घट्न थाल्यो शोधानान्तर बचतमा दबाब, एक महिनामा २७ अर्बले घट्यो



काठमाडौं । आर्थिक गतिविधि बढेसँगै आयात बढ्दा शोधानान्तरमा यसको असर देखिन थालेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ७ महिनाको तथ्यांक अनुसार देशमा भित्रने र बाहिरिने रकम अन्तर भनिने शोधानान्तर ९७ अर्ब ३६ करोड रुपैयाँले बचतमा रहेको छ । पुस मसान्तसम्म भने शोधानान्तर बचत १ खर्ब २४ अर्ब रुपैयाँले बचतमा गएको छ ।

शोधानान्तर बचत घट्दै जादा बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिने गरेको छ ।

अघिल्लो वर्षको ७ महिनाको तुलनामा भने शोधानान्तर बचत स्थिती राम्रो छ । अघिल्लो वर्षको ७ महिनामा २१ अर्ब ६१ करोड रुपैयाँले शोधानान्तर बचतमा थियो ।

चालु आर्थिक वर्षको ५ महिनासम्म बचतमा चालु खाता ६ महिनादेखि नै घाटामा जान थालिसकेको छ ।

आर्थिक वर्ष २०७७÷७८ को सात महिनामा कुल  वस्तु निर्यात ७.६ प्रतिशतले वृद्धि भई ६९ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.४ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७७/७८ को सात महिनामा कुल वस्तु आयात ०.०१ प्रतिशतले वृद्धि भई ८ खर्ब ३ अर्ब ६४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३.६ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता १ खर्ब १ अर्ब ९० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६ अर्बले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड ६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ८७ करोड १० लाखले घाटामा रहेको छ ।


क्लिकमान्डु