सम्झौता संशोधन गरी कतार सुरक्षा गार्डमा जीटुजी गर्ने सरकारको तयारी



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारमा सुरक्षा गार्डको लागि जीटुजी प्रणालीमार्फत नेपालीलाई रोजगारीमा पठाउने तयारी गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले आइतबार भएको कार्यक्रममा कतार सुरक्षा गार्डको लागि जीटुजी गर्ने तयारी गरेको बताए ।

उनका अनुसार सन् २०२२ मा कतारमा हुन लागेको विश्वकपका लागि कतारलाई आवश्यक पर्ने जनशक्ति पठाउन जीटुजी मोडल अपनाउन छलफल भइरहेको बताए । यसको लागि सरकार आफैले कतारमा कामदार पठाउनको लागि राजदूतसँग समेत छलफल गरेको मन्त्री चौधरीले जानकारी दिएका छन् ।

‘कतार कामदार पठाउने पुरानो श्रम समझदारीलाई नै संशोधन गरेर सरकारी तबरबाटै श्रमिक पठाउने गरी अब छिट्टै विज्ञसहितको टोलीसंग छलफल गर्ने तयारी रहेको छ,’ मन्त्री चौधरीले भने ।

विगतको दिनमा कतार रोजगारीको लागि म्यानपावर व्यवसायीद्धारा कतार पठाउँदै आएका थिए ।

तर, अबका दिनमा सरकारले जीटुजीमार्फत कतार पठाउन सकेमा श्रमिकलाई धेरै राहत मिल्ने जानकारहरु बताउँछन् ।

त्यस्तै, लामो समयको बन्दाबन्दीले गर्दा बैदेशिक रोजगार निकै प्रभावित भएका छन् । साथै, लामो समय बितिसक्दा पनि हालसम्म वैदेशिक रोजगारीमा भने खासै उत्साहित हुन सकेको छैन ।

तर, पछिल्लो समय विभिन्न म्यानपावर कम्पनीले कतार पुलिसको लागि माग आएको भन्दै अवैध रुपमा अन्तवार्ता र सर्वसाधारणबाट रकम असुल्ने प्रवृत्ति मौलाएको पाइन्छ ।

सोही अनुसार विभागले अनुगमन गरी कारबाहीको दायरामा ल्याइसकेको छ । त्यसैले विभिन्न म्यानपावरले अनैतिक रुपमा संलग्न भई कार्य गर्दै आएकाले कतारको सुरक्षा गार्डको लागि जीटुजीमार्फत् पठाउनेबारे छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

कतारका लागि म्यानपावरहरूले निःशुल्क अर्थात १० हजारमै कामदार पठाउन सक्ने अवस्था हुँदाहुँदै लाखौं रकम सवसाधारणसँग असुल्दै आएका छन् । यसले गर्दा सर्वसाधारणहरूलाई चर्को भार पर्दै आएको छ ।

त्यसैले सरकारले जीटुजीमार्फत श्रमिक पठाउउँद श्रमिकहरूलाई धेरै सहज हुने वैदेशिक रोजगार विभागका सुचना अधिकारी टिकामणि नेउपाने बताउँछन् ।

अहिले दैनिक रुपमा कतार जानको लागि ठगी भयो भन्दै उजुरी आउने गरेको छ । सरकारले यसलाई प्राथमिकतामा राखेमा १० हजारमै कतार पठाउन सकिने उनले बताए ।

सरकारले जीटुजी गरे व्यवसायीहरू आन्दोलनमा उत्रिने

मन्त्री चौधरीले कतारसँग जीटुजी गर्ने तयारी गरेको अभिव्यक्ति राखेसँगै म्यानपावर व्यवसायीहरूले विरोध जनाएका छन् । श्रम मन्त्रीले उक्त अभिव्यक्ति राखेपछि नेपाल वैदेशिक रोजगार व्यवसाय संघले कतारसँग सरकारले जीटुजी गरेमा व्यवसायीमा उत्रिने चेतावनी दिएका छन् ।

संघका अनुसार लामो समयसम्म व्यवसायीले आफ्नो श्रम र स्रोत लगानी गरी सम्पूर्ण पूर्वाधार तयार गरेपछि सरकारले व्यवसायलाई कब्जामा लिई व्यापार गर्ने प्रवृत्ति नेपालको संविधान र कानून विपरित रहेको संघले जनाएको छ ।


पुष्प दुलाल