माघ महिनामा ४ करोड दाबी रकमसहित ६३ जनाले गरे विभागमा उजुरी



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतामा रहेको वैदेशिक रोजगार विभागमा माघ महिनामा मात्रै ४ करोड ३६ लाख २० हजार रुपैयाँको दाबी रहकसहित ६३ जनाले उजुरी गरेका छन् । वैदेशिक रोजगार विभागको मासिक प्रगति विवरण अनुसार माघ महिनामा मात्रै उक्त दाबी रकमसहित विभागमा उजुरी गरेको हो ।

पछिल्लो समय विभिन्न म्यानपावर कम्पनीले विदेश पठाइदिन्छु भन्दै मोटो रकम असुल्ने प्रवृत्ति मौलाएसँगै विभागले तीब्र रुपमा अनुगमन गर्दै आएको छ । साथै, विभागले सरकारको ऐन विपरित कार्य गर्दै आएको म्यानपावर कम्पनीमा छापा मार्दै कारबाहीको दायरामा ल्याएको छ । यससँगै विदेश पठाइदिन्छु भन्दै नपठाउने म्यानपावर तथा व्यक्ति माथि पिडितहरुले उजुरी गरेको छ ।

विभागमा गत वर्षमा ३ सय ४१ जनाले २४ करोड ९८ लाख ६३ हजार रुपैयाँ बराबरको दाबी रहक सहित उजुरी गरेको थियो । त्यस्तै, चालु आर्थिक वषको पुस मसान्तसम्ममा १ सय ६१ जनाले १५ करोड ३३ लाख ७५ हजार दाबी रकमसहित उजुरी गरेको थियो । चालु आवको साउनदेखि माघ मसान्तसम्ममा २ सय २४ जनाले १९ करोड ६९ लाख ९५ हजार रुपैयाँ दाबी रकमसहित विभागमा उजुरी गरेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारको क्रममा ठगीएका सर्वसाधारणले माघ महिनामा ६ जना व्यवसायी माथि अदालतमा मुद्धा दायर गरेको छ । उक्त ६ जना वैदेशिक रोजगार पिडितले ९४ लाख ४० हजार रकम दाबीसहित अदालतमा मुद्धा दायर गरेको विभागले जनाएको छ ।

साथै, चालु आर्थिक वर्षदेखि माघमसान्तसम्ममा ६४ जनाले ११ करोड ४८ लाख ६९ हजार दाबी रकमसहित अदालतमा मुद्धा दायर गरेको छ । विभागको तथ्याङ्क अनुसार गत साउनदेखि पुस मसान्तसम्ममा १० करोड ५४ लाख २१ हजार दाबी रकमसहित ५८ पिडिले अदालतमा मुद्धा दायर गरेको थियो । साथै, गत वर्ष २० करोड ५८ लाख रुपैयाँ दाबी रकमसहित २०१ जनाले अदालतमा मुद्धा दायर गरेको विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।


पुष्प दुलाल