आइपीओका कारण मेरो सेयर लगइनमा समस्या, यसो भन्छन् सीडीएससीका सीइओ आचार्य



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ भर्नेको चाप बढेपछि यतिबेला मेरो सेयरमा समस्या देखिएको छ । सहजरुपमा नखुल्ने अवस्था आएकाले लागनीकर्ताहरुले आइपीओ भर्नमा झमेला बेहोर्नु परेको छ ।
ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ शुक्रबारदेखि खुला भइ फागुन २६ गतेसम्म कायम रहन्छ । त्यसैले अहिले नै चाप नगर्न सीडीएससीका सीइओ पूर्णप्रसाद आचार्य बताउँछन् ।

उनका अनुसार यसअघि फागनु २३ गते आइतबारदेखि निष्कासन गर्ने भनिएको आइपीओ शुक्रबार सेयर कारोबार नहुने भएकाले शुक्रबारका लागि सारिएको थियो ।

‘शुक्रबार सेयर कारोबार नहुने भएकाले चाप कम हुने अपेक्षामा आइपीओ निष्कासनको मिति परिवर्तन गरिएको थियो । तर पनि एकैपटक भिड गर्दा सहज रुपमा मेरो सेयर खुल्न समस्या भएको हो,’ सीइओ आचार्यले भने ।

उनले आइपीओ भर्ने समय रहेकाले आजै आइपीओ भर्न हतार नगर्न अनुरोध समेत गरेका छन् । उनका अनुसार मेरो सेयरको वेवसाइटमा एकपटकमा रियल टाइममा ६० देखि ७० हजार जनाले सहज ढंगले खोल्न सक्छन् ।

यसअघि आइपीओको नतिजा हेर्नका लागि मेरो सेयर नखुलेपछि सीडीएससीले गुगल कोडको प्रयोग गरी नयाँ तरिका अपनाएको थियो । जसका कारण लगानीकर्ताले सहजरुपमा आइपीओको नतिजा हेर्न पाएका थिए ।


क्लिकमान्डु