आइपीओको नतिजा ३ ठाउँबाट मात्रै हेर्न पाइने, मिडियामा नआउने



काठमाडौं । विभिन्न कम्पनीहरुले निष्कासन गर्ने प्राथमिक सेयर अर्थात् आइपीओ अब विभिन्न सञ्चार माध्यमबाट हेर्न नपाइने भएको छ । लामो समयदेखिको यो बहसपछि सीडीएससी एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा अबदेखि सञ्चारमाध्यमबाट आइपीओको नतिजा प्रकाशित नगर्ने निर्णय गरेको हो ।

‘लगानीकर्ताको गुनासो तथा धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावलीमा यस्तो व्यवस्था रहेको र त्यसैलाई कार्यान्वयन गरिएको हो,’ सीडीएससीका सीइओ पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार अब आइपीओको नतिजा ३ ठाउँबाट मात्रै हेर्न सकिन्छ । पहिलो सम्बन्धित कम्पनीको वेवसाइट, दोस्रो बिक्री प्रबन्धक र तेस्रो मेरो सेयरको वेवसाइटबाट मात्रै नतिजा हेर्न पाइनेछ ।

‘लामो समयदेखि गुनासो आएको हो, अहिले आएर कार्यान्वयन गर्न लागिएको हो । लगानीकर्ताको गोपनीयताको सुरक्षाका लागि बिक्री प्रबन्धकलाई पनि पत्राचार गरिसकेका छौं । र, यो भोलि बाँडफाँट हुने भनिएको महिला लघुवित्तको आइपीओको नतिजाबाटै लागू हुनेछ,’ उनले भने ।

अन्य सञ्चारमाध्यमबाट आइपीओको नतिजा हेर्न नपाइने भएपछि मेरो सेयरको वेवसाइटमा चाप पर्ने निश्चित छ । यसका लागि सीडीएससीले क्षमता वृद्धिका लागि पनि काम गरिरहेको उनले बताए ।

उनका अनुसार हाल रियल टाइममा ६० देखि ७० हजार जनाले एकैसाथ एक्सेस गर्न सक्छन् । त्यसबाहेक अब गुगल क्लाउडको प्रयोग गरेर भए पनि सहज बनाउनेतर्फ काम भइरहेको उनले जानकारी दिए ।


क्लिकमान्डु