कोरोना बीमाको दावी भुक्तानी: कहिले पूरा गर्ला सरकारले आफनो दायित्व ?



काठमाडौं । कोरोना बीमा दावी भुक्तानीको दायित्व बीमा समितिले पुरा गरेको छ । आफ्नो दायित्व अनुसारको १ अर्ब रुपैयाँ समितिले कोषमा पठाएको हो ।

हालसम्म कोरोना बीमामा दावी भुक्तानी ४ अर्ब ५० करोड रुपैयाँ बराबर परेको छ । कोरोना बीमामा दावी परेकोमध्ये ४५ हजार १८३ जना बीमितको दावी भुक्तानी स्वीकृत भइसकेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

कोरोना बीमाको दावी भुक्तानी ३ अर्ब ५० करोड रुपैयाँभन्दा माथि पुगेपछि दायित्व स्वतः सरकारमा गएको छ । तर सरकारले भने हालसम्म कुनै प्रतिबद्धता जनाएको छैन ।

दावी भुक्तानीको दायित्व बाँडफाड अन्तर्गत पहिलो १ अर्ब रुपैयाँसम्मको भुक्तानी पूलअन्तर्गत हुने व्यवस्था छ । त्यस्तै, १ अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्मको दायित्व पुनर्बीमा कम्पनीले व्योहोर्नेछ । यसैगरी २ अर्बदेखि २ अर्ब ५० करोड रुपैयाँसम्मको दायित्व बीमा कम्पनीको महाविपत्ती कोषबाट बहन गर्ने प्रावधान छ ।

त्यस्तै, २ अर्ब ५० करोड रुपैयाँमाथि ३ अर्ब ५० करोडसम्मको दावी भुक्तानीको दायित्व बीमा समितिको हो । त्यसभन्दा माथिको दावी परेपछि भुक्तानीको सम्पूर्ण दायित्व सरकारले व्योहोर्ने व्यवस्था छ ।

हाल कम्पनीलाई पुनर्बीमा कम्पनी र समितिले पुलमा पठाएको रकमले नै बीमितलाई भुक्तानी गर्न प्रयाप्त रकम छ । भुक्तानीमा रकम अभाव भए मात्रै अर्थ मन्त्रालयलाई पत्राचार गरिने कार्यकारी निर्देशक पौडेलले बताए ।

‘समिति र पुनर्बीमा कम्पनीले पुलमा पैसा पठाइसककाले दावी भुक्तानी वितरण गर्न अहिले पुलमा पैसाको अभाव छैन,’ उनले भने, ‘अर्थ मन्त्रालयमा कोरोना बीमाको नियमित तथ्यांक पठाइरहेका छौँ, सोही अनुसार दायित्व सरकारमा आएको जानकारी त्यहाँ भइसकेको छ ।’

दावी भुक्तानीको केही रकम कम्पनीले आफै पनि खर्च गरेको र पुलमा पैसा अभाव नभएको हुँदा आवश्यक भएपछि बीमा समितिले दायित्व अनुसारको पुलमा पैसा पठाउनका लागि सरकारसँग सम्वन्य गर्ने उनले जानकारी दिए ।

‘पुलबाट कोरोना बीमा दावी भुक्तानीको विस्तृत प्रतिवेदन बनाएर पठाउँछन्,’ उनले थपे, ‘सोही आधारमा समितिले अर्थ मन्त्रालयलाई पत्राचार गर्छ ।’

सरकार कोरोना बीमा दावी भुक्तानीमा आफ्नो दायित्व वहनबाट पछाडि नहटने उनको विश्वास छ ।

कोरोना दावी भुक्तानीमा सरकारले आफ्नो दायित्व वहन गर्ने सम्बन्धी एकिन आधार नआइसकेको नेपाल बीमक संघका प्रवक्ता चंकी क्षेत्री बताउँछन् ।

‘तोकिएको दायित्व बाँडफाड अनुसार नै हालसम्म कोरोना बीमा दावी भुक्तानी भइरहेको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘३ अर्ब ५० करोड रुपैयाँमाथि पुगेपछि दावी भुक्तानीको दायित्व सरकारले लिने भनी सम्झौता भएको हो तर सरकारको तर्फबाट हालसम्म कुनै प्रतिवद्धता आएको छैन ।’

बीमा समिति र पुनर्बीमा कम्पनीले आफ्नो जिम्मा अनुसारको रकम पुलमा पठाइसकेकाले अब सरकारलाई दायित्व अनुसारको भुक्तानी रकम पुलमा पठाउने गरी सम्वन्य गर्न समितिलाई आग्रह गरिएको उनले जानकारी दिए ।

‘समितिले नै सरकारले ३ अर्ब ५० करोड माथिको दावी भुक्तानी दायित्व वहन गर्ने प्रतिवद्धता गरेको थियो,’ उनले थपे, ‘सोही अनुसार उहाँहरुले नै समन्वय गर्नु पर्ने जिम्मेवारी हो, पुलमा पनि कोरोना बीमा दावी भुक्तानीका विषयमा विभिन्न चरणमा छलफल भइरहेको छ । ’

पुलबाट सरकारलाई भुक्तानीको दायित्व अनुसारको पैसा पठाउन २÷३ दिन भित्र नै समितिमार्फत् पत्राचार गरिने उनले जानकारी दिए ।


क्लिकमान्डु