ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ आजदेखि खुल्यो, कस्तो छ वित्तीय अवस्था ?



काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड कम्पनीले माघ २३ गते शुक्रबारदेखि आइपीओ निष्कासन गरेको छ ।

कम्पनीले ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । आइपीओ माघ २३ गते खुला भइ छिटोमा माघ २७ गते र ढिलोमा फागुन ७ गते बन्द हुनेछ ।

बिक्री प्रबन्धक तथा बीओके क्यापिटल मार्केट लिमिटेडका अनुसार स्थानीयबासीका लागि बिक्री खुला गरी बिक्री नभएको १६ लाख ९६ हजार ४ सय कित्ता सेयर गरी कुल ३४ लाख ९६ हजार ४ सय कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात् ६९ हजार ९२८ कित्ता कर्मचारीलाई र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत सुरक्षित गरिएकोमा सम्पूर्ण सेयर बिक्री भएकाले बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

कम्पनीको साधारण सेयरको सार्वजनिक निष्काशन गर्नका लागि केयर रेटिङ नेपालले ‘केयर­एनपी बीं (आइएस)’ प्रदान गरेको छ ।

ग्रीनफाइफ हाइड्रोपावर २०७४ असार ९ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भई कम्पनी ऐन २०६३ र विद्युत् ऐन २०४९ अन्तर्गत काम/कारोबार गर्दै आइरहेको छ । पब्लीक लिमिटेड कम्पनीमा परिणत भएपश्चात कम्पनीको नाम परिवर्तन भई ‘ग्रीनलाइफ हाईड्रोपावर लिमिटेड’ रहन गएको हो ।

कम्पनीले विद्युत उत्पादन गर्ने अनुमति मिति २०६८ बैशाख २८ गते प्राप्त गरेको र सो अनुमतिपत्रको बाहाल अवधि २०६८ बैशाख २८ गते देखि २१०३ बैशाख २७ गते सम्म रहेकोले २६ वर्ष बाँकी रहेको छ ।

यस कम्पनीले निर्माण गरी सञ्चालनमा ल्याएको खानीखोला १ जलविद्युत आयोजनाको लागत प्रतिमेगावाट करिब १९ करोड १३ लाख ४७ हजार २७० रुपैयाँ छ । आयोजनाको कुल लागत ७ अर्ब ६५ करोड ३८ लाख ९० हजार ७८४ रुपैयाँ अनुमान गरिएको छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.१० वर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १७.८९ वर्ष छ ।

कम्पनीले प्रदेश नम्बर ३, दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाइ आयोजना निर्माण गरी ४० मेगावाट क्षमताको जलविद्युत आयोजनाबाट विजुली उत्पादन गरी उद्देश्य अनुरुप २०७८ वैशाखदेखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने गरी विद्युत खरिद बिक्री सम्झौता भएको छ । कम्पनीको कच्चा पदार्थको स्रोतको रुपमा खानीखोला, हनापु खोला र नाप्के खोलाबाट प्राकृतिक बहावमा आधारित पानी छ ।

चालिस हजार किलोवाट क्षमताको जलविद्युत आयोजनामध्ये २५ हजार किलोवाटको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने १५ हजार किलोवाट क्षमताको विद्युत आयोजनाको आगामी १ वर्षभित्रमा उत्पादन प्रारम्भ हुने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै ट्रान्समिसन लाइनको कार्य ७० प्रतिशत सम्पन्न भइसकेको छ । उत्पादित सम्पूर्ण विद्युत् शक्ति नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने सम्झौता भएको छ ।
कम्पनीको चुक्तापुँजी १ अर्ब ४४ करोड रुपैयाँ छ । सेयर निष्कासन भएपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ८० करोड हुनेछ ।


क्लिकमान्डु