बैंकहरुको सम्पत्ति माथिको प्रतिफल घट्दा पनि सेयर बजारमा भने सकरात्मक प्रभाव किन ?



काठमाडौं । कोरोनाको असरले बैंकमा लगानी गर्ने लगानीकर्ताको प्रतिफल घटाएको छ । पछिल्ला वर्षहरुमा लगातारजस्तो घट्दै आएको रिटर्न अन इक्वीटी (आरओई) यो वर्ष कारोनाका कारण झनै घटेको हो ।

बैंकहरुले अर्बौं रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गर्ने हुँदा सबैको ध्यान नाफाको अंकतिर जान्छ । तर, लगानीकर्ताको लगानीमा बैंकले दिने प्रतिफल कसरी घटिरहेको छ भन्नेतर्फ धेरैको ध्यान गएको देखिँदैन ।

बैंकले धेरै नाफा कमाए कि कमाएनन् भनेर हेर्ने सबैभन्दा बलियो सूचक हो आरओई । आरओइका आधारमा मात्रै बैंकको नाफा बढी भयो भन्न मिल्ने जानकारहरु बताउँछन् ।

वाणिज्य बैंकमा लगानी गर्ने लगानीकर्ताको औषत प्रतिफल १२.७० प्रतिशतमा झरिसकेको छ । आरओई १५ प्रतिशत तल झर्नुले बैंकका लगानीकर्ताहरुका लागि आगामी दिन सुखद छैनन् भन्ने प्रष्ट संकेत गर्छ ।

यद्यपि सेयर बजारमा भने घट्दो आरओईको कुनै नकरात्मक प्रभाव परेको देखिँदैन । उल्टै बैंकहरुको सेयर मूल्य बढिरहेको छ ।

गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा बैंकहरुको आरओई औषतमा १.७६ प्रतिशतले घटेको हो ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकको गत आवको पुस मसान्तसम्म औषतमा आरओई १४.४६ प्रतिशत थियो । चालु आवको पुस मसान्तमा १.७६ प्रतिशतले घटेर १२.७० प्रतिशतमा सीमित भएको छ ।

गत आवको तुलनामा १९ वाणिज्य बैंकहरुको आरओई ०.६२ प्रतिशतदेखि १४.३२ प्रतिशतसम्म घटेको छ भने सो अवधिमा ८ वटा वाणिज्य बैंकको १.२० प्रतिशतदेखि ४.६१ प्रतिशतसम्म वृद्धि भएको छ ।

के हो आरओई, यसको असर कसलाई कस्तो पर्छ ?

सेयरधनीहरुले बैंकमा गरेको कुल लगानीको प्रतिफललाई रिटर्न अफ इक्विटी (आरओई) भनिन्छ । जसमा लगानीकर्ताको लगानीमा चुक्ता पुँजीसँगै रिजर्भसमेत समावेश गरिएको हुन्छ ।

सञ्चालनमा रहेका सबै वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब माथि छ । कुनै ८ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको वाणिज्य बैंकको २ अर्ब रिजर्भमा हुँदा त्यसको कुल पुँजी १० अर्बको हुन्छ । यदि त्यो बैंकले २ अर्ब रुपैयाँ नाफा कमायो भने २ अर्बले भाग १० अर्बलाई भाग गर्दा २० प्रतिशत हुन्छ । यो २० प्रतिशत नै बैंकको रिटर्न अफ इक्विटी हो ।

सामान्यतय कुनै पनि बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने लगानीकर्ताले त्यसको प्रतिफल १५ देखि २० प्रतिशतसम्म पाउने अपेक्षामा लगानी गरेका हुन्छन् भने सोही अनुपातमा आरओई भएको बैंकलाई राम्रो आम्दानी भएको मानिन्छ ।
तर चालु आवको पुस २१ वटा वाणिज्य बैंकको आरओई १५ प्रतिशतभन्दा कम छ । जसमा ११ वटा वाणिज्य बैंकको आरओई १० प्रतिशतभन्दा कम छ ।

सो अवधिमो ६ वटा बैंकको मात्र १५ प्रतिशतभन्दा धेरै छ । जबकी गत आवको सोही अवधिमा १० वटा वाणिज्य बैंकको आरओई १५ प्रतिशतभन्दा बढी थियो ।

गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा वाणिज्य बैंकहरुको खुद नाफासमेत ६० करोड रुपैयाँले घटेर २९ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ ।

चालु आवको मसान्तसम्म २७ वाणिज्य बैंकको आरओई १२.७० प्रतिशत छ । यसरी हेर्दा बैंकहरुमा औषतमा एक जना लगानीकर्ताले कुनै एक वाणिज्य बैंकमा १०० रुपैयाँ लगानी गर्दा चालु आवको पुस मसान्तसम्मको नाफाबाट १२ रुपैयाँ ७० पैसा लगानीको प्रतिफल पाउँछ । जुन अघिल्लो आवमा १०० रुपैयाँ लगानी वापत १४ रुपैयाँ ४६ पैसा थियो ।

आरओई घटे पनि बैंकिङ क्षेत्रमा लगानीकर्ताको आकर्षण बढ्दो

बैंकहरुले कमाएको नाफाको आधारमा सेयरधनीलाई बाढ्ने लाभांश कति पर्छ भन्ने आरओइले फरक पार्दछ । अहिले अधिकांस बैंकहरुको आरओइ गत आवको पुस मसान्तकोे तुलनामा घटेको छ । लगानीको सामान्य सिद्दान्तअनुसार आरओई घटेको क्षेत्रमा लगानीकर्ताको आकर्षण घट्नु पर्ने भएपनि असहले बैंकिङ क्षेत्रमा त्यो नभएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

‘आरओई घटेपछि त्यसमा गरिएको लगानीको प्रतिफल कम आउने हुँदा यसको सिद्दान्तअनुसार आरओई घट्दा बैंकिङ क्षेत्रमा लगानीकर्ताको आकर्षण घट्नु पर्ने हो’ भट्टले क्लिकमाण्डूसँग भने, ‘तर अहिले बैंकिङ क्षेत्रमा गरिएको लगानी हेर्ने हो भने त्यो सिद्दान्तसँग मेल खाएको देखिँदैन । कुनै पनि कम्पनीमा लगानी गर्दा लगानीकर्ताले हेर्ने भनेको अहिलेको प्रतिफल र भविष्यमा लगानीको प्रतिफलको सम्भाव्यता हो । जसअनुसार अहिले आरओई घट्दा बैंकमा आर्कषण घट्नुपर्ने हो तर त्यो भएको छैन ।’

गत वर्षको पुस मसान्तको तुलनामा आरओई घटेर लगानीकर्ताले बैंकमा गरेको लगानीको प्रतिफल घटेपनि यस क्षेत्रमा गरिने लगानी भने बढीरहेको उनको भनाइ छ ।

‘अहिले बैंकहरुका तरलता प्राप्त छ, ब्याजदर कम छ, लगानीका अन्य क्षेत्रहरुमा अझै पनि राम्रो रिर्टनको सम्भावना भइसकेको छैन’ उनले थपे, ‘यी कारणले गर्दा बैंकिङ क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरु यसमा आकर्षित भइनै रहेका छन् ।’

अन्य क्षेत्रको तुलनामा बैंकिङ क्षेत्रमा लगानीको अनुकुलता राम्रो भएको कारणले गर्दा पनि सेयर बजारमा लगानी बढेको उनको भनाइ छ । पर्याप्त तरलता हुँदा बैंकहरुले सहजरुपमा कर्जा उपलब्ध गराएकै कारणले गत असारयता १८ अर्ब रुपैयाँले सेयर धितोकर्जाका साथै ओभरड्राफ्ट बढेको उनले जानकारी दिए ।

कोरोनाले अन्य क्षेत्रको व्यवसायमा प्रतिकुल असर पर्दा आरओई घटेपनि अन्य क्षेत्रको तुलनामा बैंकिङ क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको नेपाल इन्भेष्टमेण्ट फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए ।

‘कोरोना भाइसरको कारण बैंकहरुको खुद नाफा घटेसँगै आरओई घटेको भएपनि अन्य क्षेत्रको तुलनामा रिकोभवरी राम्रो छ, अहिले पुस मसान्तमा घटेको आरओईले लगानीको रिटर्नमा खासै प्रभाव पार्दैन,’ रौनियारले क्लिकमाण्डूसँग भने, ‘इन्स्योरेन्स र माइक्रोफाइनान्सको लगानीको रिटर्न अस्थिर छ भने हाइड्रोको सेयर मूल्य हेर्ने हो भने १० वर्ष अगाडिदेखि कतिपय कम्पनीको मूल्य १ सय ५० रुपैयाँको हाराहारीमा बसेको छ ।’

धेरैजसो बैंकहरुले कोरोनापछि राम्रो व्यवसाय बढाउँदै लगेको र भबिष्यमा त्यसको रिटर्नको राम्रो सम्भावना देखेर लगानीकर्ताले बैंकमा लगानी गरिरहेको उनको भनाइ छ ।

‘केही बैंकहरुको पर्फमेन्स अहिले धेरै राम्रो हुँदै गएको छ भने केही बैंकहरुको धेरै खस्किएको छ,’ उने थपे, ‘पहिलेको तुलनामा धेरै अस्किने बैंकहरुमा लगानी गर्दा त्यसले भविश्यमा दिने रिटर्नलाई मुल्यांकन गरेर मात्र लगानी गर्नु पर्छ ।’

राष्ट्र बैंकको मर्जर नीति अनुसार केही बैंकहरुको मर्जरमो सम्भाव्यता मुल्यांकन गरेर पनि ती बैंकहरुमा लगानीकर्ताले कर्जा लिएर नै भएपनि लगानी गरेको उनको भनाइ छ ।

वाणिज्य बैंकहरुको आरओईः कुन बैंकको कतिले घट्यो, कतिले बढ्यो ?

चालु आवको पुस मसान्तसम्म एनआएसी एशिया बैंकको आरओई सबैभन्दा धेरै २४ प्रतिशत छ । गत आवको सोही अवधिको तुलनामा भने बैंकको आरओई २.४९ प्रतिशतले घटेको हो । साथै, सो अवधिमा सबैभन्दा थोरै सिभिल बैंकको ३.९८ प्रतिशत छ । जुन गत आवको पुस मसान्तको तुलनामा २.४४ प्रतिशत थोरै हो ।

बैंकहरुले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासकोे वित्तीय विवरणअनुसार गत आवको सोही अवधिमा प्रभु बैंकको ४.८१ प्रतिशतले बढेर १९.९९ प्रतिशत, कुमारी बैंकको ४.६१ प्रतिशतले बढेर १४.३६ प्रतिशत, प्राइम बैंकको ४.०८ प्रतिशतले बढेर १७.६१ प्रतिशत र एनएमबी बैंकको ३.९६ प्रतिशतले बढेर १४.९७ प्रतिशत पुगेको छ ।

साथै, सो अवधिमा ग्लोबल आइएमई बैंकको ३.८० प्रतिशतले बढेर १६.२२ प्रतिशत, मेगा बैंकको ३.४३ प्रतिशतले बढेर १४.५७ प्रतिशत, सिटिजन्स बैंकको २.४० प्रतिशतले बढेर १३.३० प्रतिशत र नेपाल बंगलादेश बैंकको १.२० प्रतिशतले आरओई बढेर १४.३५ प्रतिशत पुगेको छ ।

कुन बैंकको कतिले घट्यो ?

कोरोना भाइरस प्रभाव बैंकिङ क्षेत्रमा समेत प्रत्यक्ष पर्दा आरओई समेत घटेको बैंकरहरु बताउँछन् ।

सञ्चालनमा रहेका २७ वणिज्य बैंकमध्ये चालु आवको पुस मसान्तसम्म १९ वाणिज्य बैंकहरुको आरओई गत वर्षको सोही अवधिको तुलनामा घटेको छ । जसमा सबैभन्दा बढी हिमालयन बैंकको १४.३२ प्रतिशतले घटेर ७.६७ प्रतिशतमा सीमित भएको छ ।

साथै सो अवधिमा सबैभन्दा थोरै नेपाल बैंकको ०.६२ प्रतिशतले घटेर ८.८१ प्रतिशतमा सीमित भएको छ ।

गत पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा ५ वटा वैको आरओई ५ प्रतिशत बढीले र १३ वटा वाणिज्य बैंकको आरओई ५ प्रतिशतभन्दा थोरैले घटेको हो ।

जसमा हिमालयन, स्टाण्डर्ड चार्टर्ड, नेपाल एसबीआई, एभरेष्ट, राष्ट्रिय वाणिज्य, सेञ्चिुरी, बिओके, सिदार्थ, एनसीसी, लक्ष्मी, सनिमा र एनआइसी एशिया बैंक छन् ।

साथै, सिभिल, कृषि विकास, नबिल, एनआइबीएल, माछापुच्छ्रे, सनराइज र नेपाल बैंकले पनि गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा आरओई घटेको छ ।


पुष्प दुलाल