१४ वटा वाणिज्य बैंकहरुको खराब कर्जा अनुपात बढ्यो, कुन बैंकको कति ?



काठमाडौं । कोरोना भाइसरको असर हरेक क्षेत्रमा जस्तै बैंकिङ क्षेत्रमा पनि परेको छ । कोरोना प्रभावित क्षेत्रलाई राष्ट्र बैंकले तोकेअनुसार कर्जाको साँवा ब्याज भुक्तानीमा सहुलिय दिँदा बैंकहरुको खराब कर्जा अनुपात बढेको हो ।

सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंकहरुको चालु आर्थिक वर्षको पुस मसान्तसम्म खराब कर्जा अनुपात औषतमा ०.०४ प्रतिशतले बढेको छ ।

गत आवको पुस मसान्तसम्म वाणिज्य बैंकहरुको खराब कर्जा अनुपात औषतमा १.६३ प्रतिशत थियो । जुन चालु आवको सोही अवधिमा ०.०४ प्रतिशतले बढेर १.६८ प्रतिशत पुगेको छ ।

कोरोना भाइरसले हरेक क्षेत्र प्रवाहित हुँदा त्यस क्षेत्रमा बैंकहरुले दिएको ऋण उठाउन नसकेपछि बैंकहरुको खराब कर्जा बढेको हो । पुस मसान्तमा बैंकहरुले कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्दा त्यसले थप खराब कर्जा बढाएको बैंकरहरु बताउँछन् ।

बैंकहरुद्वारा प्रवाहित कर्जामध्ये साँवा ब्याज भुक्तानी गर्ने भाका एक वर्ष काटेकोे कर्जालाई खराब कर्जाको रुपमा राख्नुपर्ने व्यवस्था छ ।

राष्ट्र बैंकले तोकिएको समयमा कर्जाको साँवा ब्याज नउठेर ३ महिना नाघेको कर्जामा २५ प्रतिशत, ६ महिना नाघेमा ५० र एक वर्ष नाघेमा शतप्रतिशत प्रोभिजनिङ (जोखिम व्यवस्था) गर्नुपर्ने व्यवस्था गरेको छ ।

चालु आवको दोस्रोे त्रैमाससम्ममा १४ वटा बैंकको खराब कर्जा बढेको छ भने बाँकी रहेको बैंकहरुको खराब कर्जा घटेको छ ।

खराब कर्जा बढने बैंकहरुमा सिटिजन्स, स्ट्याण्र्डड चार्डर्ट, हिमालयन, ग्लोबल आइएमई, नेपाल बंगलादेश, एनएमबी, सिद्दार्थ, माछापुच्छ्रे र मेगा बैंक छन् ।

साथै सो अवधिमा नेपाल बैंक, सानिमा, एभरेष्ट, कुमारी र नेपाल एसबीआइ बैंकले समेत खराब कर्जा अनुपात गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा बढाएका हुन् ।

बैंक तथा वित्तीय संस्थामा खराब कर्जा जति कम भयो संस्थाको अवस्था त्यति नै राम्रो मानिन्छ । राष्ट्र बैंकले बैंकहरुलाई खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा तल हुनुपर्ने भनेको छ ।

तर सरकारी बैंकहरुको खराब कर्जा अनुपात नै सबै वाणिज्य बैंककोभन्दा धेरै छ । जसमा पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा अनुपात नै सबैभन्दा बढी ४.२३ प्रतिशत छ ।

यद्यपि बैंकले गत आवको पुस मसान्तको तुलनामा यस्तो अनुपात चालु आवको सोही अवधिमा ०.५४ प्रतिशतले घटाएको हो ।

साथै, सो अवधिमा सरकारी बैंकहरु कृषि विकास बैंक ३.१४ प्रतिशत र नेपाल बैंकको २.८८ प्रतिशत छ । सो अवधिमा कृषि विकास बैंकले ०.७७ प्रतिशतले खराब कर्जा अनुपात घटाएको हो भने नेपाल बैंकले ०.२२ प्रतिशतले खराब कर्जा अनुपात गत वर्षको तुलनामा चालु आवको पुस मसान्तमा बढाएको हो ।

यसैगरी गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा सेञ्चुरी बैंकले अन्य बैंकको तुलनामा अत्यधिक मात्रामा खराब कर्जा अनुपात बढाएको छ ।

गत वर्षको पुस मसान्तमा ०.९९ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा चालु आवको सोही अवधिमा यस्तो अनुपात १.४३ प्रतिशतले बढेर २.४२ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये १४ वटा बैंकले १.४३ प्रतिशतदेखि ०.०२ प्रतिशतसम्म खराब कर्जा अनुपात बढाएका छन् भने १२ वटा बैंकले खराब कर्जा अनुपात ०.०२ प्रतिशतदेखि १.०६ प्रतिशतसम्म खराब कर्जा अनुपात घटाएका छन् । जसमा सबैभन्दा धेरै प्रभु बैंकले १.०६ प्रतिशतले र सबैभन्दा थोरै बैंक अफ काठमाण्डूले ०.०२ प्रतिशतले खराब कर्जा अनुपात घटाएका हुन् ।

सेञ्चुरी बैंकले भने चालु आवको पुस मसान्तसम्म खराब कर्जा अनुपात स्थिर राखेको छ । बैंकको गत आवको पुस मसान्तसम्म ०.६७ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा चालु आवको सोही अवधिमा पनि खराब कर्जा अनुपात १.६७ प्रतिशत नै रहेको छ ।


क्लिकमान्डु