एटीएमबाट पैसा निकाल्दा चैतयता २८ करोड विदेशियो, क्यूआर कोडबाट भुक्तानी गर्नुस्ः गभर्नर



काठमाडौं । गत चैत ११ गते सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न भन्दै लकडाउन गरेको थियो । लकडाउनसँगै तपाईंहामी लामो समय घरभित्रै बस्यौं ।

अत्यावश्यक परेको खण्डमा नजिकैको एटीएम मेशिनमा गएर पैसा पनि निकाल्यौं । एटीएमले तपाईंहाम्रो जीवनशैली धेरै नै परिवर्तन गरेको छ ।

स्वाट्ट एटीएम बुथ छिर्यो पैसा निकाल्यो । कार्ड स्वाब गर्यो पैसा भुक्तानी गर्यो ।

तर तपाईंलाई थाहा नहुन सक्छ, तपाईंले एकपटक एटीएमबाट पैसा निकाल्दा कति रकम विदेशिन्छ भनेर ।

‘एटीएमबाट पैसा निकाल्दा केही पैसा तिरेजस्तो लाग्दैन तर तपाईंले एकपटक एटीएमबाट जतिसुकै पैसा निकाले पनि ६ देखि ७ रुपैयाँ विदेश जान्छ,’ राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने, ‘क्यूआरकोड बाट भुक्तानी गर्दा कति पनि रकम विदेश जाँदैन । हामी सबैलाई फाइदा हुन्छ ।’

गभर्नरले यस्तो बताएपछि क्लिकमाण्डुले तथ्यांक केलाएर हेरेको थियो ।

गत चैतदेखि मंसिरसम्मको ९ महिनाको अवधिमा ४ करोड ३९ लाख १५ हजार पटक एटीएम मेशिनबाट पैसा निकालिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । गभर्नरको भनाइलाई आधार मानेर हिसाब गर्दा यो अवधिमा २८/२९ करोड रुपैयाँ बाहिरिएको देखिन्छ ।


पुष्प दुलाल