अब पाँच तारे होटलका कर्मचारीको तलब ५ हजार मात्रै



काठमाडौं । तारे होटलका सञ्चालकहरुले कर्मचारी तथा श्रमिकको तलब फेरि घटाएका छन् । माघ १३ गते होटल संघ नेपाल (हान) र सरोकारवाला पक्षबीच यस्तो सम्झौता भएको हो ।

नयाँ सम्झौता अनुसार अब पाँच तारे होटलका कर्मचारी तथा श्रमिकले मासिक ५ हजार रुपैयाँ मात्रै तलब पाउनेछन् । त्यसैगरी चार तारे होटलका कर्मचारीले मासिक ४ हजार, ३ तारेका कर्मचारीले मासिक ३ हजार, २ तारे होटलका कर्मचारीले मासिक २ हजार ५ सय, १ तारे होटलका कर्मचारीले मासिक २ हजार रुपैयाँ पाउनेछन् । त्यसैगरी पर्यटक स्तरीय होटलका कर्मचारीले आपसी समझदारीमा तलब तय हुनेछ ।

हानले यसअघि कोरोना महामारीको बाहना बनाएर कर्मचारीको तलब कटौती गरेको थियो । जसमा पाँच तारे होटलका कर्मचारीको तलब अधिकतम १० हजार रुपैयाँ तोकिएको थियो । कोरोना महामारीका कारणले पर्यटक आगमन ठप्प प्रायः भएपछि अहिले अधिकांश तारे होटलहरु बन्द अवस्थामा छन् ।

यो सहमति अवधिभरी चाडपर्व खर्च, बोनस र भ्रमण भत्ता श्रमिक तथा कर्मचारीहरुलाई उपलब्ध नगराउने हानले जानकारी दिएको छ ।

सहमति अनुसार होटल सञ्चालनका लागि चक्रीय प्रणालीमार्फत आवश्यकताको आधारमा आलोपालो गरी श्रमिक तथा कर्मचारीहरुलाई काममा लगाइनेछ । काममा लगाइएका त्यस्ता श्रमिक तथा कर्मचारीहरुलाई निजहरुले खाइपाई आएको पारिश्रमिक उपलब्ध गराइनेछ ।

त्यसैगरी काममा नबोलाइएमा यस सहमतिमा तोकिएको रकम उपलब्ध गराउनु पर्नेछ । यस सहमतिको समयावधिभरी तालिमे, करार, दैनिक ज्यालादारी र आउटसोर्सिङका श्रमिकहरुलाई काममा लगाइने छैन । तर बैंकेट सेवाका लागि मात्र आवश्यक पर्ने देखिएमा तालिमे, करार, दैनिक ज्यालादारी र आउटसोर्सिङका श्रमिकहरुलाई व्यवस्थापनले काममा लगाउन सक्नेछ । सहमति अवधिभरी काममा नबोलाइएको समयमा बिदाको सुविधा श्रमिक तथा कर्मचारीहरुले दावी गर्न पाउने छैन ।


क्लिकमान्डु