आउन थाले लोडसेडिङका तालिका !



काठमाडौं । कुलमान घिसिङले अन्त्य गरेको लोडसेडिङ पुनः शुरु हुन लागेको संकेत मिलेको छ । पछिल्ला दिनमा काठमाडौँ उपत्यका लगायतका शहरी क्षेत्रमा समेत अनियमित रुपमा बिजुली काटिएको सूचना सार्वजनिक नै भएका थिए । यद्यपी, त्यसलाई नेपाल विद्युत् प्राधिरकणले भने अस्वीकार गर्दै आएको थियो ।

तर, देशभर नै अन्त्य भएको लोडसेडिङ भने जुम्लामा देखिन थालेको छ । मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै प्राधिकरणको जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । यो २०७३ असोज पछि सार्वजनिक भएको पहिलो तालिका हो ।

प्राधिरकरण जुम्लाले टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म लोडसेडिङ हुने जनाएको छ ।

सूचना अनुसार यसैगरी विजयनगर ठूलो, विजयनगर सानो, बोहरागाउँ र बसपार्क क्षेत्रमा मध्याह्न साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म लोडसेडिङ हुनेछ ।

सूचना अनुसार हरेक दिन बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावरहाउस बन्द गरिने भएको छ ।

पिक लोडको समयमा वितरण प्रणालीमा पावर अपुग भएमा ग्राहकहरुको लाइनसमेत काटिनसक्ने प्राधिकरणले जनाएको छ । साँझको समयलाई पिक लोड हुने समयको रुपमा लिइन्छ ।

हालसम्म जुम्लामा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन । साना जलविद्युत आयोजनाबाट उत्पादित बिजुली प्रयोग हुँदै आएको छ ।

सामाजिक सञ्जालहरुमा अब क्रमशः काठमडौं उपत्यकालगायत शहरी क्षेत्रमा समेत लोडसेडिङ हुन सक्ने आशंका व्यक्त गरिएको छ ।


पुष्प दुलाल