अर्थमन्त्रीलाई प्रश्नः बीमा समितिले कहिले नेतृत्व पाउँछ ?



काठमाडौं । दुई सातादेखि बीमा क्षेत्रको नियामक निकाय बीमा समिति नेतृत्वबिहीन भएको छ । अध्यक्ष चिरञ्जीबी चापागाईंको कार्यकाल सकिएपछि समिति नयाँ नेतृत्वको पर्खाइमा छ ।

समितिमा नयाँ नेतृत्व आइनसकेको हुँदा बीमा कम्पनीहरुका धेरै काम रोकिन थालेका छन् ।

‘सामान्यभन्दा सामान्य काममा पनि कसैले चासो दिँदैनन्, निर्णय गर्न कोही पनि तयार छैनन्,’ एक बीमा कम्पनीका सीइओले भने, ‘समिति बन्धकजस्तै भएको छ ।’

बीमा क्षेत्रसँग सरोकार राख्नेहरुले सोध्ने गर्छन्– समितिले कहिले र कसलाई नयाँ अध्यक्षको रुपमा पाउने रहेछ ?

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीदेखि समितिकै कार्यकारी निर्देशकबाट अवकास पाएका श्रीमान कार्कीलगायत आधा दर्जन आकांक्षीहरु नयाँ अध्यक्ष बन्न कम्मर कसेर लागेका छन् ।

बीमा क्षेत्रसँग सरोकार राख्ने आम सरोकारवालाहरुको प्रश्न क्लिकमाण्डूले अर्थमन्त्री विष्णु पौडेललाई सोध्दा जवाफमा अर्थमन्त्री पौडेलले राजनीतिक कार्यव्यस्तताले गर्दा समितिको अध्यक्ष नियुक्ति गर्न केही ढिला भएको बताए ।

‘राजनीतिक कार्यव्यस्तताले गर्दा समितिको अध्यक्ष नियुक्तिमा केही ढिलो भएको छ, यो साता हुने संभावना छैन,’ मन्त्री पौडेलले क्लिकमाण्डूसँग भने ‘अर्को सातासम्म पनि अध्यक्ष नियुक्ति गर्न सकिएन भने अस्थायी व्यवस्था अर्थात् कसैलाई कामू अध्यक्षको जिम्मेवारी दिएर गतिशिल बनाउँछौं ।’

अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले अध्यक्षको नियुक्ति गर्छ । अर्थमन्त्री पौडेल, प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग निकट रहेको व्यक्ति अध्यक्ष बन्ने सबैभन्दा बलियो संभावना छ । आकांक्षीहरुले विभिन्न च्यानलमार्फत शक्तिकेन्द्र धाइरहेका छन् ।


पुष्प दुलाल