६१ प्रतिशतले बढ्यो चाउचाउ निर्यात, भारतले किन्यो ६३ करोडको



काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को ५ महिनामा चाउचाउको निर्यात बढेको छ । आव २०७६/७७ को तुलनामा चालु आवमा ६१.७५ प्रतिशतले चाउचाउ निर्यात बढेको हो ।

कोरोना महामाीले गर्दा उद्योगहरू निकै प्रभावित भएता पनि आव २०७६/७७ को ५ महिनामा उल्लेखनीय निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

गत वर्ष नेपालले ५० करोड ३७ लाख मूल्य बराबरको ३४ लाख ५० हजार केजी चाउचाउ विभिन्न ११ देशमा निर्यात गरेको थियो ।

त्यस्तै, चालु आवमा नेपालले ८१ करोड ५७ लाख रुपैयाँ मूल्य बराबरको ५५ लाख १९ हजार केजी चाउचाउ विभिन्न १२ देशमा निर्यात गरेको छ । जुन गत वर्षको तुलनामा ३१ करोड रुपैयाँले बढी हो ।

७७ प्रतिशत हिस्सा भारतको

वस्तु तथा सेवाको आयात निर्यातमा ठूलो योगदान पुर्याउँदै आएको छिमेकी राष्ट्र भारतले चाउचाउ पनि उल्लेखनीय निर्यात गरेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकको पाँच महिनाको तथ्याङ्क अनुसार नेपालबाट निर्यात गरेको टप २० को सूचिमा ११ नम्बरमा चाउचाउ रहेको छ । त्यस्तै, भारततर्फ निकासी भएको उत्कृष्ट ५० वस्तु तथा सेवाको निर्यातमा भने २५औं स्थानमा चाउचाउ रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ को ५ महिनाको अवधिमा नेपालले भारततर्फ ३७ लाख २४ हजार मूल्य बराबरको २९ लाख २९ हजार केजी चाउचाउ निर्यात गरेको थियो ।

त्यस्तै, चालु आवको सोही अवधिमा भारततर्फ ६३ करोड ७ लाख मूल्य बराबरको ४७ लाख ९८ हजार केजी निर्यात गरेको छ । जुन गत वर्षको तुलनामा ६८.९ प्रतिशतले बढी हो ।

नेपालले भारत, अष्ट्रेलिया, क्यानाडा, जापान, अमेरिका, मलेशिया, बेलायत, हङकङलगायत अन्य विभिन्न देशमा चाउचाउ निर्यात गर्दै आएको छ ।

उक्त निर्यात गरेको देशमध्येमा भारतले मात्रै ७७.३२ प्रतिशत हिस्सा ओगटेको छ । त्यस्तै, भारत पछिको चाउचाउ निर्यात भएको देश हो अष्ट्रेलिया ।

अष्ट्रेलियामा चालु आवको पाँच महिनाको अवधिमा ५ करोड ८८ लाख रुपैयाँ बराबरको २ लाख २३ हजार केजी चाउचाउ निर्यात भएको छ । जुन निर्यात भएको चाउचाउको शतप्रतिशतको ७.२० प्रतिशत हिस्सा हो ।

त्यस्तै, तेस्रोमा अमेरिका छ । अमेरिकामा चालु आवमा ५ करोड ४५ लाख २१ हजार मूल्य बराबरको २ लाख ५४ हजार केजी चाउचाउ निर्यात भएको छ । जसमा अमेरिकाले ६.६८ प्रतिशत हिस्सा ओगटेको छ ।

त्यसैगरी, मलेशियामा  चालु आवको पाँच महिनामा ३ करोड १४ लाख मूल्य बराबरको ६० हजार केजी चाउचाउ निर्यात भएको छ । मलेशियाको  चाउचाउ निर्यातको ३.८५ प्रतिशत हिस्स ओगटेको छ ।

अन्य देशमा जापानमा  २.१७ प्रतिशत, यूरोपेली मुलुक बेलायतमा  ०.९ प्रतिशत, क्यानाडामा ०.७ प्रतिशत र हङकङमा ०.५ प्रतिशतले चाउचाउ निर्यात भएको छ ।


पुष्प दुलाल