जागिर खोज्नेको लागि काठमाडौंमा जब फेयर हुने, ३ हजार ले जागिर पाउने दाबी



काठमाडौं । राजधानीमा नेपाल जब फेयर–२०२१ सुरु भएको छ । बिहीबारबाट रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्र्रिया गर्ने लक्ष्यसहित फेयर हुने छ ।
एस्पायर जब्सको आयोजनामा मुलुकमै पहिलोपटक हुन लागेको नेपाल जब फेयर तीन दिनसम्म सञ्चालन हुनेछ र यसमा रोजगारदाता र करिअर प्लानमा रहेका युवाबीच प्रत्यक्ष अन्तरक्रिया हुनेछ ।

जब फेयरले व्यावसायिक र पारदर्शी मानव संशाधन अभ्यासको सूत्रपात गर्ने लक्ष्य लिएको छ । जब फेयर मार्फत प्रविधिका माध्यमले युवा उद्यमशीलताको विकास गर्ने तथा मानव संशाधन क्षेत्रलाई थप गतिशील र विश्वसनीय बनाउने विश्वास लिइएको छ ।

फेयरमा नोट स्पिकरका रुपमा अर्थशास्त्री हरि रोका र रोजगार विज्ञ प्रा. डा. रमेशप्रसाद कोइराला र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ रहने छन् ।

फेयरमा एक सयभन्दा बढी रोजगारदाता सहभागी हुनेछन् भने १५० भन्दा बढी अन्तर्वार्ता सेसन सञ्चालन गरिनेछ । जसबाट ३ हजार भन्दा बढीको रोजगारी सुनिश्चित हुने अपेक्षा गरिएको छ ।

यस्तै, १० हजारभन्दा बढीको भौतिक तथा भर्चुअल सहभागिता रहने जब फेयरमा १ लाख ५० हजारभन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता जनाउनेछन् ।

काठमाडौंको सोल्टी क्राउन प्लाजामा हुने जब फेयरमा युवा उद्यमशीलतासम्बन्धी प्रतिस्पर्धा, वैदेशिक अध्ययनसम्बन्धी सेमिनार, एभिएसन र हस्पिटालिटी क्षेत्रसम्बन्धी करियर सेमिनारलगायतका गतिविधि सञ्चालन हुनेछन् ।


क्लिकमान्डु