हाइड्रो हवमा नै बिजुली उत्पादन घटेपछि प्राधिकरणलाई समस्या, भारतबाट आयात बढ्यो



काठमाडौं । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा यतिबेला विद्युत् उत्पादन घट्न थालेको छ । जिल्लाका उत्पादन थालेका आयोजनामा चिसोका कारण आवश्यक पानी नहुँदा विद्युत् उत्पादन घट्न थालेको हो ।

जिल्लाको बेसीशहर नगरपालिका–१ दलालमा रहेको जिल्लाकै पहिलो तथा ठूलो ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनामा ३६ मेगावाट विद्युत् उत्पादन घटेको छ । आयोजनाका लागि चाहिने पर्याप्त पानी मस्र्याङ्दी नदीमा नहुँदा उत्पादन घट्दै जाने क्रममा हाल ३४ मेगावाट विद्युत् मात्र उत्पादन भइरहेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रका प्रमुख शिवकुमार शाहले बताए ।

उनले भने ‘ आयोजनामा पूरै क्षमतामा विद्युत् उत्पादन हुँदै आए पनि केही समयदेखि उत्पादन घट्दै गएको र अझै विद्युत् उत्पादन घटेर २७÷२८ मेगावाटसम्म पुग्नेछ ।’

मध्यमस्र्याङ्दी ३५÷३५ मेगावाट क्षमताको दुई टर्बाइन गरी ७० मेगावाट क्षमताको जलविद्युत् आयोजना हो ।

मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रका केन्द्र प्रमुख शाहका अनुसार पानी कम भएकाले मङ्सिरको दोस्रो हप्ताबाट विद्युत् उत्पादन घट्न थालेको र अझै विद्युत् उत्पादन घट्ने क्रममै रहेको छ ।

आगामी फागुन महिनाको अन्तिमसम्म पुग्दा विद्युत् उत्पादन निकै कम हुने आयोजनाले जनाएको छ । यस आयोजनामा विगतको वर्षमा विद्युत् उत्पादन घटेर २६ मेगावाटसम्म पुग्ने गरेको थियो ।

सन् २००० मा निर्माण शुरु भई सन् २००८ मा सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन हुन थालेको थियो । २७ अर्ब २० करोड लागतमा आयोजना निर्माण भएको थियो ।

त्यस्तै जिल्लाकै दोस्रो ठूलो आयोजना मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत घट्न थालेको आयोजनाले जनाएको छ । केही दिनदेखि उत्पादन १२ मेगावाट विद्युत् घटेको र अझै घट्ने क्रममा रहेको बताइएको छ ।

बर्सेनि विद्युत् उत्पादन झनै घट्ने गरेको र माघ महिनासम्म पुग्दा २८ मेगावाटसम्म मात्र विद्युत् उत्पादन हुने आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए ।

यस आयोजनामा २५ मेगावाटसम्म विद्युत घट्ने गरेको छ । सन् २०१३ जनवरीदेखि आयोजनाको निर्माण थालनी गरी सन् २०१७ जनवरीदेखि व्यावसायिकरूपमा माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाले विद्युत् उत्पादन थालेको थियो । सो आयोजना करिब १६ अर्बमा निर्माण सम्पन्न भएको थियो ।

चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको र नेपालको चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी रहेको छ ।

यी ठूला आयोजनामा मात्र नभई जिल्लाका ५ मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी, ३ मेगावाटको मिदिम करापु र दुई मेगावाटको छ्याङ्दी आयोजनामा समेत बिजुली उत्पादन कम हुन थालेको छ ।

मध्यमस्र्याङ्दी, माथिल्लो मस्र्याङ्दी ‘ए’ र यी आयोजनाले बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएर देशलाई नै उज्यालो बनाउनका लागि टेवा पुर्याइरहेको छ । ती आयोजनामा विद्युत् उत्पादन कम हुँदा आर्थिकरूपमा पनि मुलुकमै प्रभाव पारेकोे देखिन्छ ।

जिल्लामा एक दर्जन आयोजना निर्माणाधीन रहेका छन् भने केही आयोजना निर्माण हुने प्रक्रियामा छन् । निर्माणाधीन रहेका आयोजनामध्ये केही आयोजनाले केही महिनाभित्रै विद्युत् उत्पादन गर्दै राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिरहेका छन् ।

आन्तरिक उत्पादन घटेपछि झण्डै ५०० मेगावाट बिजुली भारतबाट आयात भइरहेको छ । पछिल्ला दिनमा प्राधिरकणले विशेष ध्इान दिन नसक्दा अघोषित रुपमा  नै बिजुली काटिने समस्या बढ्दै गएको छ ।

यद्यपी शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले समस्या आएको र त्यसलाई सुधार गर्न लागिपरेको बताएका थिए ।


पुष्प दुलाल