जहाज निर्माता कम्पनी एयरबस र वोइङबीचको विवाद बढ्यो, अमेरिकाले गर्यो कर वृद्धिको निर्णय
एजेन्सी । विमान उत्पादक दुई ठूला कम्पनीबीचको विवाद क्रमशः बढ्दै गएको छ । सो विवाद बढ्दै जाँदा त्यसले संसारभर नै प्रभाव पार्ने देखिएको छ । युरोपेली संघले विमान निर्माता कम्पनीहरु एयरबस र बोइङ्गको विवादबीच फ्रान्सेली र जर्मन उत्पादनहरुमा बढी शुल्क लगाउने संयुक्त राज्य अमेरिकाको निर्णयप्रति दुःख व्यक्त गरेको छ ।
पछिल्ला दिनमा अमेरिकन जहाज निर्माता कम्पनी बोइङको व्यापार क्रमशः ओरालो लागेको छ । संसारका अधिकाशं देशले जर्मनी र फ्रान्सले निर्माण गर्ने एयरबसतर्फ आर्कषित भएका छन् ।
विश्वका दुई ठूला विमान कम्पनीबीच विवाद समाधानका लागि छलफल भइरहेका समय वासिङ्टनले यूरोपेली उत्पादनमा कर वृद्धि गर्ने निर्णय गरेको जसका कारण चलिरहेको वार्तामा बाधा पुगेकोे ईयूको प्रशासनिक केन्द्र ब्रसेल्सले जनाएको छ ।
यो वर्ष विश्व व्यापार संगठन (डब्लुटीओ( ले केही अमेरिकी उत्पादनमाथि थप कर लगाउन ईयूलाई स्वीकृति दिएको थियो । तर बदलामा अमेरिकाले ईयूका उत्पादनमाथि कर वृद्धिको घोषणा गरेको हो ।
यद्यपि ब्रसेल्सले समस्याको समाधानका लागि अमेरिकी नयाँ नेतृत्वले पहल लिनेमा विश्वास व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक नेता जो बायडेनले सन् २०२१ को जनवरी २० मा पदभार सम्हाल्नेछन् ।
युरोपेली आयोगले भनेको छ, ‘ अफसोस छ कि संयुक्त राज्य अमेरिकाले डब्ल्यूटीओ र एयरबसको विमानमा राहतको मुद्दामा छलफल चलिरहेका समय थप ईयु उत्पादनहरूमा करवृद्धि गर्ने निर्णयप्रति आयोग दुःख व्यक्त गर्दछ ।’
‘ईयुले यी वार्तालाई जारी राख्न र विवादको स्थायी समाधान खोज्नको लागि छिट्टै नै नयाँ अमेरिकी प्रशासनसँग जोडिनेछ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी प्रवृत्ति अन्तर्गत अमेरिकी पछिल्लो निर्णय आएको ठहर गर्दै आयोगले नयाँ नेतृत्वसँग जोडिने जनाएको हो ।
उड्डयन कम्पनीसँग गाँसिएको झगडा ट्रम्पको अगाडि छ, तर वाशिंगटनले ७ अर्ब ५० करोड अमेरिकी डलर बराबरको युरोपेली समानमा करवृद्धिको घोषणा गरिसकेको छ ।
वाशिङ्टनले मदिरा चीज र जैतुन तेल जस्ता ईयूका विशेष उत्पादनहरूमा २२५ प्रतिशत थप शुल्क लगाएको छ । ईयूले डब्लुटीओको अनुमतिमा मार्चमा एयरबस विमानहरूमा १५ प्रतिशत कर वृद्धि गरेको थियो ।