मदिरा क्षेत्रमा बैंकहरुको लगानी ४.९ प्रतिशतले बढ्यो, सुर्तीजन्य क्षेत्रमा ७१ प्रतिशतले घट्यो



काठमाडौं । सुर्तीजन्य उत्पादनमा बैंक तथा वित्त कम्पनीले प्रवाह गर्ने कर्जा ७१ प्रतिशतले घटेको छ । सोही अवधिमा मदिरा जन्य उत्पादनमा जाने कर्जा भने ४.९ प्रतिशतले बढेको छ ।

तर मदिरा रहित पेय पर्दाथ उत्पादनमा प्रवाह हुने कर्जा २१.१ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको काक्तिक मसान्तसम्म बैंक तथा वित्त कम्पनीले उत्पादनतर्फ ६ अर्ब ९६ करोड ४१ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमा बैंक तथा वित्त कम्पनीले खाद्य पर्दाथ, पेय पर्दाथ, निर्माण सामाग्री लगायतका विभिन्न प्रकारका उत्पादनमा कर्जा प्रवाह गरेका हुन् ।

असार मसान्तको तुलनामा काक्तिक मसान्तमा अधिकांश उत्पादनमा जाने कर्जामा सामान्य वृद्धि भएपनि ९ प्रकारका उत्पादनमा जाने कर्जा भने घटेको छ । सो अवधिमा सुर्ती, पेय पदार्थ, कपडा, तेल/चारकोल, रसिन/तारपिन, ल्यादर, स्टोन/लिड र धातुमा फलाम, स्टील अन्य प्रकारका धातु उत्पादनमा प्रवाह हुने कर्जा घटेको हो ।

जसमा सबैभन्दा बढी सुर्तीजन्य उत्पादनमा प्रवाहित कर्जा ७१.१ प्रतिशतले घटेको छ । कात्तिक मसान्त्सम्म सुर्ती जन्य पदार्थको उत्पादनमा ७९ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । जुन गत असार मसान्तको तुलनामा १ अर्ब ९६ करोड ३४ लाख रुपैयाँ कम हो । गत असार मसान्तसम्म २ अर्ब ७६ करोड रुपैयाँ कर्जा सुर्ती उत्पादनमा बैंक तथा वित्त कम्पनीले प्रवाह गरेका थिए ।

गत आवको सोही अवधिमा यस्तो कर्जा १९.२ प्रतिशत अर्थात् ९ करोड २ लाख रुपैयाँले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

अघिल्लो आवको असार मसान्तमा ४९ करोड ९८ लाख रुपैयाँ सुर्ती उत्पादनमा कर्जा प्रवाह भएकोमा ४ महिनामा ९ करोड २ लाख रुपैयाँले बढेको थियो ।

सो अवधिमा पेय पर्दाथ उत्पादनतर्फ जाने कुल कर्जा २.६ प्रतिशतले घटेको छ । गत असार मसान्तमा २६ अर्ब ४५ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । जुन चालु आवको कात्तिक मसान्तमा ५८ करोड ५७ लाख रुपैयाँले घटेर २५ अर्ब ७६ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ ।

पेय पर्दाथको उत्पादनमा जाने कुल कर्जा घटेपनि मदिरा जन्य पेय पर्दाथ (अल्कोहल) उत्पादनमा भने ४.९ प्रतिशतले कर्जा बढेको छ । गत असारमा मदिराजन्य उत्पादनमा १८ अर्ब ८५ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह भएकोमा कात्तिक मसान्तमा १९ अर्ब ७७ करोड २४ लाख रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

सो अवधिमा अल्कोहलरहित पेय पर्दार्थको उत्पादन भने २१.१ प्रतिशत अर्थात् १ अर्ब ६० करोड ६७ लाख रुपैयाँले घटेको छ । गत असार मसान्तमा नन् अल्कोहल उत्पादनमा ७ अर्ब ६० करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह भएकोमा काक्तिक मसान्तमा ५ अर्ब ९९ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ ।

गत असार मसान्तको तुलनामा काक्तिक मसान्तमा उत्पादन तर्फ कपडा उत्पादनमा ०.१ प्रतिशत, तेल र चारकोल उत्पादनमा ६.६ प्रतिशत, रसिन र तारपिन उत्पादनमा ७ प्रतिशतले कर्जा घटेको छ ।

त्यसैगरी, ल्यादर जन्य पर्दाथ उत्पादनमा १ प्रतिशत, स्टोन/लिड उत्पादनमा १.४ प्रतिशत, धातुको फलाम तथा स्टील उत्पादनमा १.२ प्रतिशत र अन्य प्रकारका धातु उत्पादनमा ४.७ प्रतिशतले कर्जा घटेको छ ।


पुष्प दुलाल