हिमालयन बैंकसँग मर्जरको तयारी गरिरहेको इन्भेष्टमेन्ट बैंकको साधारणसभामा मर्जरको विशेष प्रस्ताव
काठमाडौं । हिमालयन बैंकसँग मर्जरको तयारी गरिरहेको नेपाल इन्भेष्टमेन्ट बैंकले साधारणसभामा मर्जरको विशेष प्रस्ताव गरेको छ । बैंकले बुधबार साधारणसभा सम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ । बैंकले आगामी माघ ८ गतेका लागि ३४औं साधारणसभा बोलाएको छ ।
साधारणसभामा मर्जरको प्रारम्भिक सम्झौता (एमओयू) गर्ने, उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान, छनौट गरी समझदारी पत्रमा हस्ताक्षर गर्ने अधिकार सञ्चालक समितिलाई दिने विषेश प्रस्ताव गरेको हो ।
त्यसैगरी, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिको सम्झौता गरी सैद्दान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन पेश गर्ने, आवश्यकताअनुसार सम्पती तथा दायित्व मुल्यांकन (डीडीए) गर्न परामर्शदाता, मुल्याङ्कनकर्ता तथा लेखापरीक्षकहरु नियुक्ति गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै, मर्जर तथा प्राप्तिसँग सम्बन्धित सम्पुर्ण प्रक्रियाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने तथा प्राप्त निर्देशन अनुसार विवरण उपलब्ध गराउने जस्ता सम्पुर्ण कार्य गर्न गराउन संचालक समितिलाई पुर्णअख्तियारी दिने प्रस्ताव गरिएको छ ।
साधारणसभा माघ ८ गते भर्चुअल माध्यममार्फत् केन्द्रीय कार्यलय दरबारमार्गमा हुनेछ ।
बैंकले साधारणसभामा यसअघि घोषणा गरेको १३ प्रतिशत बोनश सेयर र ५.५० प्रतिशत नगद लाभांश पारित गरी वितरण गर्नेछ । सो सभाले सर्वसाधारण सेयर धनीको तर्फबाट २ जना संचालक नियुक्त गर्ने बताइएको छ ।
इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरको तयारी भइरहेको छ । दुबै बैंकले साधारणसभामा मर्जरको विशेष प्रस्ताव गर्ने र त्यसपछि आक्रमकरुपमा मर्जरको प्रक्रिया अघि बढाउने तयारीमा छन् । दुई बैंकबीच मर्जर गर्न आन्तरिक डीडीए भइरहेको छ ।