मुख्य सिजनमै निर्माण सामग्रीको अभाव, रोकिए भौतिक पूर्वाधारका काम



काठमाडौं । सरकारले अवैधरूपमा उत्खनन गरिरहेको ढुङ्गाखानी बन्द गरेसँगै देशभरका विभिन्न स्थानको सडक निर्माणमा त्यसको असर परेको छ ।

काठमाडौँ उपत्यकालगायत देशभरका विभिन्न सडक निर्माण अवरुद्ध बन्न पुगेको सडक विभागले जनाएको छ ।

निर्माण सामग्रीको समस्या समाधानका लागि पहल भइरहेको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । उनका अनुसार निर्माण सामग्री कुन–कुन स्थानमा र कसरी निकाल्ने भनी कार्यविधि बनिरहेको भएपनि निर्माण सामग्री पाउन समस्या परेको छ । उनले भने ‘ त्यो आएपछि मात्रै सडक निर्माण सञ्चालन हुनसक्छ ।’

निर्माण सामग्रीको अभाव झण्डै दुई महिना पहिले शुरु भएको हो । निर्माण सामग्री अभावले काठमाडौँ उपत्यकाका विस्तारित र निर्माणका क्रममा रहेका सडक अवरुद्ध बनेको विभागले जनाएको छ ।

कतिपय सडक पुससम्ममा सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण सामग्री नहुँदा नसकिने अवस्था आएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा मात्रै ढुङ्गाखानी बन्द भए काभ्रेपलाञ्चोक वा धादिङको विकल्प खोज्न सकिने भए पनि देशभर ठप्प भएकाले निर्माण अघि बढाउन नसकिएको आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिए । उनले भने ‘ एक–दुई हप्तामा सकिने काम पनि उसै रहेको छ ।’

लामो समयसम्म कोभिड–१९ को सङ्क्रमणका कारण सडक निर्माणमा असर गरेकामा सङ्क्रमण कम हुँदै गर्दा देशभर निर्माण अघि बढिरहेको थियो ।

गत आवमा नै सम्पन्न गर्ने लक्ष्य राखिएका सडकमध्ये कतिपय कोभिडकै कारण सम्पन्न हुन सकेनन् । अहिले ती सडकको निर्माण अघि बढाइएको भए पनि निर्माण सामग्री अभावको समस्या थपिएको छ ।निर्माण सामग्रीको अभाव राष्ट्रिय राजमार्गदेखि स्थानीय सडक निर्माणमा समेत पर्न थालेको देख्न सकिन्छ ।


पुष्प दुलाल