निर्यातमा पामको स्थान भटमासको तेलले लियो, भारतमा मात्रै १३ अर्बको निर्यात



काठमाडौं । भारत सरकारले गत वर्ष पुस २३ गते पाम आयलको आयातमा प्रतिबन्ध गर्ने निर्णय गर्यो । नेपालको व्यापार घाटा घटाउन महत्वपूर्ण ठानिएको पाम आयलमा भारतले लगाएको प्रतिबन्धसँगै नेपालबाट भारतमा पाम आयलमा निर्यात शुन्य जस्तै अवस्थामा पुगेको छ ।

नेपालबाट निर्यात गर्दै आएको पाम आयल प्रतिबन्ध लगाएसँगै देशभित्रका व्यवसायी तथा उद्योगीहरूले असन्तुष्टि जनाउँदै आएको छन् । तर, हालसम्म पनि पाम आयल उल्लेखनीयरुपमा निर्यात गर्न सफल हुन सकेको छैन ।

पाम आयलको निर्यात निकै कम भएको अवस्थामा यता भट्मास तेलको निर्यात भने बढेको पाइन्छ । गत वर्ष पाम आयल निर्यात हुँदा भट्मासको तेल थोरै मात्रामा निर्यात हुन्थ्यो । तर, अहिले पाम आयलमा प्रतिबन्ध लगाएसँगै भट्मास तेलको निर्यात ह्वात्तै बढेको छ ।

आर्थिक वर्ष २०७६÷७७ को पाँच महिनाको समय अवधिमा नेपालले ११ अर्ब ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ११ करोड १९ लाख ७८ हजार केजी पाम आयल निर्यात गरेको थियो ।
तर, चालु आवको सोही समयमा भने ४ लाख ४३ हजार रुपैयाँको ३ हजार केजी मात्र पाम आयल निर्यात भएको छ । गत वर्षको तुलना गर्दा उक्त पाम आयल नगन्य हिसाबले निर्यात भएको छ । तर, भट्मासमा भने उल्लेखनीय निर्यात भएको पाइन्छ ।

आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा विभिन्न नेपालको भन्सारबाट ५० अर्ब ५ करोड ५६ लाखको वस्तु निर्यात भएको छ । पछिल्लो समय कोरोना भाइरस महामारीका कारण विस्तारै चलायमान हुन थालेको अवस्थामा गत वर्षको तुलनामा निर्यात बढ्दै गएको पाइन्छ । यस्तै चालु आवको पाँच महिनामा पनि करिब ५ प्रतिशतले निर्यात बढेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

त्यसमध्ये उक्त पाँच महिनाको अवधिमा सबैभन्दा बढी भट्मासको तेल निर्यात भएको छ । चालु आवको पाँच महिनाको अवधिमा नेपालले १३ अर्ब ५० करोड ६३ लाख रुपैयाँ बराबरको ९३ करोड ५५ लाख ९७ हजार केजी भट्मासको तेल निर्यात भएको छ ।

गत वर्ष सोही अवधिमा नेपालले जम्मा ३ अर्ब ११ करोड ६३ लाख बराबरको २ करोड ४४ लाख ७५ हजार केजी भट्मासको तेल निर्यात गरेको थियो । जुन चालु आवको तुलनामा १० अर्ब ३८ करोड ९९ लाख रुपैयाँ कमी हो ।

भारतमा मात्रै १३ अर्बको भट्मासको तेल निर्यात

सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्जले चालु आवको पाँच महिनामा १५ अर्ब ५८ करोड ५४ लाखको सामान निर्यात गरेको छ । साथै, उक्त भन्सारबाट १ खर्ब ६४ अर्ब २३ करोड ९८ लाख रुपैयाँ बराबरको आयात भएको छ ।

त्यसैगरी विराटनगर भन्सारबाट १२ अर्ब ७४ लाख ६७ लाख बराबरको वस्तु निर्यात गरेको छ । सोही अवधिमा उक्त भन्सारबाट भने ६४ अर्ब ९ करोड ७६ लाखको वस्तु आयात भएको छ ।
भारततर्फ चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको अवधिमा भटमासको तेल सबैभन्दा बढी निर्यात भएको छ ।

कोरोना महामारीका कारण वीरगञ्ज नाकाबाट भारततर्फ हुने निकासी काम समेत प्रभावित भएको थियो । तर, चालू आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालले १३ अर्ब ५० करोड ५६ लाख रुपैयाँ मूल्य बराबरको ९ करोड ३५ लाख ५४ हजार केजी भट्मासको तेल भारततर्फ निकासी भएको छ ।

त्यसैगरी, भारततर्फ दोस्रोमा अलैची बढी निकासा भएको छ । भारतमा यो वर्ष अलैचीको उत्पादन कम भएका कारण बजारमा अलैचीको बढ्दो माग भएकाले भारततर्फ अलैचीको निकासा बढी भएको अलैची व्यवसायीहरूको भनाइ छ ।

जसमा पाँच महिनाको अवधिमा ३ अर्ब ५ करोड १० लाख रुपैयाँ मूल्य बराबरको ३७ लाख ९० हजार केजी अलैची निकासा भएको छ ।

साथै, नोपलबाट तेस्रोमा बढीभन्दा बढी निर्यातमा हुनेमा कालो चिया भएको देखिन्छ । भन्सार विभागको तथ्याङ्क अनुसार २ अर्ब ३३ करोड ८५ लाख रुपैयाँ बरारबको चिया पाँच महिनाको अवधिमा निर्यात गर्न सफल भएको छ । उक्त अवधिमा ७७ लाख ५४ हजार केजी कालो चिया निर्यात गरेको छ ।


क्लिकमान्डु