नागढुंगा- सिस्नेखोला जोड्ने सुरुङमार्गको निर्माण कार्य शुरु, २२ अर्ब लगानी



काठमाडौं । काठमाडौंको नागढुंगादेखि धादिङ्को सिस्नेखोला जोडने सुरुङ्मार्गको निर्माण कार्य शुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्याश गरेको १४ महिनापछि सुरुङ खन्ने काम शुरु भएको हो । सन् २०२२ को अन्तिम सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने यो सुरुङमार्ग कोभिडका कारण प्रभावित भएपछि सुरुङ खन्ने काम ढिलो गरी शुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्याश गरेको १४ महिनापछि काठमाडौंको नागढुंगादेखि धादिङ्को सिस्नेखोला जोडने सुरुङमार्ग खन्ने कार्य मंगलबार देखि शुरु भएको छ । २.६८ किलोमिटर लम्बाई रहेको यो सुरुङमार्ग सन् २०२२ को अन्त्य सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

गत वर्षको कात्तिक ४ गते प्रधानमन्त्री ओलीले शिलान्यास गरे पनि मुआब्जा विवाद, विष्फोटक पदार्थको आयातमा भएको ढिलाई र कोभिडका कारण निर्माण उपकरण आयातमा भएको ढिलाईका कारण १४ महिना ढिलो गरी निर्माण कार्य शुरु भएको सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।

यो आयोजना जापान सरकारको १६ अर्ब ऋण सहयोग र नेपाल सरकारको करिब ६ अर्ब लगानी गरी झण्डै २२ अर्ब लगानीमा निर्माण सम्पन्न हुनेछ ।

आयोजना स्थलमा सुरुङ खन्नका लागि निर्माणस्थलसम्म पहुँचमार्ग, खोलामा कल्भर्ट बनाउने कार्य पुरा भइसकेको छ । तोकिएको समयभन्दा केही ढिलो गरी काम शुरु भएपनि समयमै निर्माण कार्य सम्पन्न हुने पनि थापाले बताए ।

जापानको हाज्मा एन्दो कर्पोरेसनले निर्माण कार्यको जिम्मा लिएको छ । ड्रिलिङ एन्ड ब्लास्टिङ प्रविधिबाट सुरुङ खन्ने काम हुनेछ । आयोजनाका अनुसार सुरुङ मार्गको कुल लम्बाई २ दशमलव ६८ किलोमिटर छ भने ३.५ मिटर चौडाई रहेका दुई लेन हुनेछन् । यस्तै अत्यावस्यक रेस्क्युका लागि समेत छुट्टै एक्सिस रोड पनि निर्माण हुनेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले सुरुङमार्ग निर्माण गर्न २०६९ साल माघ देखि २०७२ सालसम्ममा विभिन्न चरणको सर्वेक्षण गरेको थियो । सोही सर्वेक्षणको आधारमा सुरुङ मार्ग निर्माण कार्य शुरु भएको छ ।

सन २०२२ को अन्त्य सम्म निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य भएपनि कोभिडका कारण सुरुङ खन्ने कार्य नै ढिलाई भएपछि सन् २०२३ को मध्य सम्ममा निर्माण सम्पन्न हुने सम्भावना रहेको आयोजनाले बताएको छ ।


पुष्प दुलाल