काँग्रेसको आह्वानमा सर्वदलीय बैठक, ओली पक्षको भेला बालुवाटारमा शुरु
काठमाडौं । मध्यावधि निर्वाचनको घोषणा भएपछिको पछिल्लो अवस्थाका बारेमा जानकारी दिन प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको भेलामा राष्ट्रियसभाका सदस्यसहितका सांसद उपस्थित भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान भेला बोलाएका हुन् । भेलामा पूर्व माओवादीका तर्फबाट लेखराज भट्ट मात्रै सहभागी छन् ।
राष्ट्रियसभा सदस्य रहेका खिमलाल भट्टराईलगायत सांसद सहभागी रहेको भेलामा सहभागी एक सांसद जानकारी दिए । भेलामा के कति सांसद छन् भन्ने बारेमा भने केही बताइएको छैन ।
यस्तै, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको बैठकले भने दिउँसो बस्ने तय गरिएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक तय गरिएको छ ।
नेकपा भित्र ओली र दाहाल नेपाल पक्षले थप रणनीति बनाउने ध्येयका साथ भेला बोलाएका छन् । बानेश्वरमा सांसदको भेला पछि स्थायी कमिटिको बैठक बस्ने बताइएको छ ।
उता प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री ओलीको पछिल्लो कदमका बारेमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ ।
आइतबार सिंहदरबारमा बसेको प्रमुख ३ दलको बैठकले प्रधानमन्त्रीले संविधानमा नै नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गरेको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
प्रधामन्त्रीले प्रतिनिभिसभा विघटन गर्ने सिफारिश गरे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचनको मिति घोषणा गरेकी छिन् ।