सरकारी कर्मचारीले तोकिएको पोशाक नलगाए सिंहदरबार छिर्न नपाउने



काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार प्रवेश गर्ने कर्मचारीले तोकिएको पोशाक नलगाएको भन्दै चेकजाँच गरेको छ ।

सतर्कता केन्द्रले बुधबार सिंहदरबारको दक्षिण गेटमा कर्मचारीहरुले पोशाक लगाए नलगाएको सम्बन्धमा चेकजाँच गरेको हो । सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णप्रसाद अधिकारीले विहान ९ बजेदेखि नै चेकजाँच गरिएको बताए ।

अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएपछि सचेत गराउन चेकजाँच गरेको अधिकारीले बताए ।

उनले सिंहदरबार भित्र काम गर्ने कर्मचारी र बाहिरबाट काम लिएर आउने कर्मचारी सबैले पोशाक लगाए नलगाएको जाँच गरिएको बताए । अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएको पनि उनले बताए ।

पोशाक नलगाउने कर्मचारीलाई सचेत गराई प्रवेश गर्न दिइएको पनि डिएसपी अधिकारीले बताए । सरकारी कर्मचारीले पोशाक भत्ता बापत रकम लिने तर पोशाक नै नलगाउने गरेपछि अनुगमन गर्नुपरेको डिएसपी अधिकारीले बताए ।

अवदेखि नियमित रुपमा छड्के जाँच गरिने पनि उनले बताए ।


क्लिकमान्डु