कुल कर्जाको पौने १५ % ओभरड्राफ्ट कर्जा, अब एक बैंकभन्दा बढीबाट कर्जा लिन नपाइने



काठमाण्डौं । अबदेखि ग्राहकले एकभन्दा बढी बैंकबाट ओभरड्राफ्ट कर्जा लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ओभरड्राफ्ट कर्जामा कडाई गर्दै सो व्यवस्था गर्ने भएको हो ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै व्यक्तिगत कर्जा, सेयरधितो कर्जा तथा रियलस्टेट कर्जा सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने उल्लेख गरेको छ । जसको कार्यविधि बनाएर एकभन्दा बढी बैंकबाट ओभरड्राफ्ट कर्जा लिन नमिल्ने व्यवस्था गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

‘सेयर धितो कर्जा र रियलस्टेट कर्जामा अहिले जुन व्यवस्था छ त्यही गरिएको छ,’ राष्ट्र बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘ओभरड्राफ्ट कर्जा भने ५० लाख रुपैयाँसम्मको सीमामा एकभन्दा बढी बैंकबाट कर्जा लिन नमिल्ने व्यवस्था गरिएको छ ।’

स्रोतका अनुसार अब राष्ट्र बैंकले कुनै एक बैंक तथा वित्त कम्पनीबाट ओभरड्राफ्ट शिर्षकमा कर्जा लिएको ग्राहकलाई अर्को बैंक तथा वित्त कम्पनीले कर्जा दिन नमिल्ने व्यवस्था गर्नेछ ।

मौद्रिक नीति समीक्षामा उल्लेख गरिएका व्यवस्थालाई सम्बन्धित विभागले कार्यविधि बनाएर राष्ट्र बैंक व्यवस्थापन कमिटीमा पठाइ सकेको छ । व्यवस्थापन कमिटीबाट पास भए पछि विभागिय निर्देशन जारी हुने राष्ट्र बैंक स्रोतको भनाइ छ ।

हालसम्म बिना प्रयोजन वा प्रयोजन नखुलेका ओभरड्राफ्ट शिर्षकमा बैंक तथा वित्त कम्पनीहरुले एक ग्राहकलाई अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा दिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्म बैंक तथा वित्त कम्पनीले ५ खर्ब ७ अर्ब ५ करोड ९० लाख प्रयोजन नखुलेका कर्जा ओभर ड्राफ्ट शिर्षकमा प्रवाह गरेका छन् ।

जसमा साउन मसान्तदेखि असोज मसान्तसम्म नै २९ अर्ब ६ करोड ४० लाख रुपैयाँ ओभरड्राफ्ट कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । साउन मसान्तसम्म बैंक तथा वित्त कम्पनीले ४ खर्ब ८८ अर्ब अर्ब ५९ करोड ६० लाख रुपैयाँ ओभरड्राफ्ट कर्जा प्रवाह गरेका थिए ।

असोज मसान्तसम्म बैंक तथा वित्त कम्पनीले कुल ३४ खर्ब १२ अर्ब ९१ करोड २३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । प्रवाहित कुल कर्जाको १४।८५ प्रतिशत कर्जा बैंक तथा वित्त कम्पनीले ओभरड्राफ्ट शिर्षकमा प्रवाह गरेका छन् ।

प्रयोजन नखुलेका कर्जा अनुपादक क्षेत्रमा प्रवाह हुन सक्ने सम्भावना भएकाले त्यस्तो कर्जालाई राष्ट्र बैंकले नियन्त्रण गर्न खोजेको राष्ट्र बैंकका सह–प्रवक्ता नारायण प्रसाद पोख्ररेलले बताए ।
‘अहिले कोभिडको कारणले आम्दानीको स्रोत सबैको घटेको छ,’ पोख्ररेलले क्लिकमाण्डूसँग भने, ‘ओभरड्राफ्टमा कर्जा लिएर ऋणीले उपभोगका वस्तु खदिर तथा अनुत्पादक क्षेत्र र क्रियाकलाप खर्च गर्ने हुँनाले यसको व्यवस्थामा परिवर्तत गर्न खोखिएको हो ।’

प्रयोजन नखुलाई बैंकबाट ५० लाख रुपैयाँसम्म धितो मुल्यांकनमा ऋण लिन सकिने भएपछि ऋणीले बिवाह, वर्तमान, पाटी लगायत मनोरञ्जन गर्नका लागि समेत ओभरड्राफ्ट शिर्षकमा कर्जा लिने गरेको उनको भनाइ छ ।

असोज मसान्तसम्म प्रवाहित कुल ओभरड्राफ्ट कर्जामा ४ अर्ब ३८ करोड ९२ लाख रुपैयाँ वाणिज्य बैंकहरुमार्फत प्रवाह भएको छ । साथै विकास बैंकहरुबाट ६१ अर्ब ३३ करोड ५० लाख रुपैयाँ र ६ अर्ब ८० करोड ४० लाख रुपैयाँ फाइनान्स कम्पनीहरुबाट प्रवाह भएको छ ।

लकडाउन पछि बैंकहरुमा नयाँ परियोजनामा कर्जाको माग नभएपनि ओभरड्राफ्ट शिर्षकमा भने कर्जाको माग बढीरहेको एक बैंकका सीइओले बताए ।

‘ऋणीले घर खर्च चलाउनदेखि बैंकको ब्याज तिर्न, सेयरमा लगानी गर्न पनि ओभरड्राफ्टमा कर्जा लिएका छन्,’ ती सीइओले क्लिकमाण्डूसँग भने, ‘बैंकहरुमा अहिले प्रसस्त तरलता भएको कारणले पनि बिना प्रयोजनका ओभरड्राफ्टमा जति कर्जाको माग आउँछ त्यति स्वीकृति गरिरहेका छन् ।’

निश्चित प्रयोजका लागि कर्जा चाहिने तर कागजात पुरा गर्न नसक्ने ऋणीले पनि ओभरड्राफ्ट शिर्षकमा कर्जा लिने गरेको उनले बताए । अन्य कर्जाको ब्याजदरको तुलनामा ओभरड्राफ्ट कर्जाको ब्याजदर केही प्रतिशत बढी हुन्छ । सामान्य अवस्थामा सस्तो ब्याजदरमा प्रयोजन खुलाएर नै कर्जा लिने ग्राहकले समेत कोरोना पछि ओभरड्राफ्ट शिर्षकमा कर्जा लिएका ती सीइओले बताए ।


क्लिकमान्डु