सरकारले झुठो बाचा गर्यो र उद्योगीसँग मिलेर पैसा दिएनः उखु किसान



काठमाडौं । उखु मिलले भुक्तानी नदिएपछि सर्लाहीका उखु किसानले आन्दोलन शुरु गरेका छन् । चिनी उद्योगबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसानहरु काठमाडौं आएर आज (आइतबार) देखि आन्दोलन शुरु गरेका हुन् ।

पहिलो चरणमा माइतिघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने र सरकारले आफूहरुलाई पैसा नदिलाए कडा आन्दोलन गर्ने चेतावनी समेत किसानहरुले दिएका छन् ।

‘समृद्ध नेपाल भन्नेले सबैभन्दा पहिले किसानलाई समृद्ध बनाउनुपर्छ । यसअघि हामीले उद्योगमन्त्रीज्यूलाई स्मरण पत्र बुझाउँदा पनि छठमा धेरै पैसा खर्च हुने भएकाले त्यसभन्दा अगाडि पैसा दिलाइदिन आग्रह गरेका थियौं, मन्त्रीज्यूले पनि हुन्छ भन्नु भएको थियो । तर छठपछि १५ दिनको समय थप्दा पनि पैसा आएन,’ उखु किसान संघर्ष समिति, सर्लाहीका संरक्षक राकेश मिश्रले भने ।

मन्त्रालय र उद्योगीबीच कुराकानी हुने तर हामीलाई पैसा नदिने, हामीसँग पनि मिटिङ पनि नगर्ने परिपाटी चल्दै आएको किसानले आरोप लगाए । सरकार आफैले कपाली तमसुक गरेर पैसा दिलाउँछु भनेको थियो तर अहिले सरकार र उद्योगीबीच मिलेमतो बनाएर किसानलाई पैसा नदिने खेल भएको उनीहरुको आरोप छ ।

‘तर हामीले कत्ति गर्दा पनि पैसा नपाएपछि आज आएर बाध्य भएर काठमाडौं आएका छौं । अब हामीले पैसा नलिइकन घर जाने अवस्था छैन,’ मिश्रले भने ।

मिश्रले यसपटक किसानको पूरै पैसा नपाउँदासम्म आन्दोलन नरोकिने स्पष्ट पारे । संरक्षक मिश्रले तिहार अगाडि उद्योगमन्त्री लेखराज भट्टलाई भेट गरी स्मरण पत्र बुझाएर छठ पर्वसम्म भुक्तानी दिलाइदिन माग गरेपनि पैसा नआएकाले आफूहरु काठमाडौं आएर आन्दोलन गर्न बाध्य भएको बताए ।

मन्त्रालयले उद्योगीहरुको सम्पर्कमा छौं भन्ने तर किसानलाई रकम भुक्तानी गराउन नसक्ने भएकाले सरकार र उद्योगीबीच मिलेमतो भएको हुन सक्ने आशंका पनि किसानहरुको छ ।

यसअघि किसानहरु कात्तिक २३ गते मिल सञ्चालकबाट उखुको रकम भुक्तानी गराउन माग गर्दै काठमाडौं आएका थिए । किसानहरुले २०७६ पुष १८ गते मन्त्रालयको उपस्थितमा किसान र उद्योगीबीच भएको समझदारी कार्यान्वयन नभएको भन्दै उद्योग मन्त्री भट्टको ध्यानाकर्षण गराएका थिए ।

गत वर्ष भएको सम्झौतामा नेपाल सरकारबाट निर्धारण भएको उखुको मूल्य बमोजिम उखु किसानहरुको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीहरुले २०७६ माघ ७ गतेभित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने उल्लेख छ ।

त्यसैले पनि सरकारले नै उखुको भुक्तानी दिलाउने जिम्मेवारी लिएर पनि दिलाउन नसकेको भन्दै यसपटक किसानहरु निर्णयक आन्दोलन गर्ने बताएका छन् । उखु किसानहरुले उद्योगीहरुबाट करिब ९० करोड रुपैयाँ उठाउन बाँकी रहेको बताएका छन् ।


क्लिकमान्डु