अर्बौं कर छली गरेको भन्दै कोकाकोलामा राजस्वको छापा, कागजात नियन्त्रणमा लिएर अनुसन्धान



काठमाडौं । अर्बौं राजस्व छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपाल लिमिटेडमा छापा मारेको छ । केही दिनअघि विभागको टोलीले छामा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो ।

‘विभागले बोटलर्स नेपालले प्रयोग गर्दै आएको कम्युटरको हार्डडिस्क, ल्यापटप र कम्पनीसँग सम्बन्धित महत्वपूर्ण कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ,’ विभाग स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

कम्पनीले राजस्व छलि गरेको उजुरीका आधारमा विभागले लामो समयदेखि शुक्ष्म निगरानी गरिरहेको थियो ।

बोटलर्स नेपालले ठूलो परिमारणको सेयर बिक्री गरेको तर राज्यलाई तिर्नुपर्ने पुँजीगत लाभकर नतिरेको पाइएपछि छानविन प्रक्रिया अघि बढाइएको हो ।

‘बोटलर्सले ठूलो परिमाण र रकमको सेयर बिक्री गरेको छ तर राज्यलाई तिर्नुपर्ने पुँजीगत लाभकर तिरेको छैन,’ विभाग स्रोतले भन्यो, ‘त्यसैले हामीले कम्पनीका कागजात नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएका हौं ।’

विभाग स्रोतका अनुसार बोटलर्स नेपालको मूख्य स्वामित्व भएको दुबइस्थित कम्पनी कोकाककोला साउथ वेस्ट एशिया होल्डिङ्समार्फत् सेयर किनबेच भएको छ । नेपालको कम्पनीमा भएको सेयरको स्वामित्व अफ्रिकामा रहेको कम्पनी दि कोकाकोला बोटलिङ इन्भेष्टमेन्ट ग्रुपलाई बिक्री गरिएको छ ।

६ वर्षअघि भएका यो कारोबारको जानकारी नेपालको सरकारी निकायलाई अहिलेसम्म दिइएको छैन ।

‘सरकारलाई कुनै जानकारी नै नदिई नेपालको कम्पनीमा भएको स्वामित्व विदेश विदेशमै बिक्री गरी अर्बभन्दा बढी रकम बराबरको राजस्व छलि गरेकोा पाइयो,’ स्रोतले भन्यो, ‘छानविन पछि सत्यतथ्य बाहिर आउने छ ।’

खासगरी विदेशी लगानीका कम्पनीहरुले कानूनी लुपहोल्समा खेल्ने गरेको विभागका अधिकारीहरु बताउँछन् ।

‘एनसलले पनि पुँजीगत लाभक तिर्न आनाकानी गर्यो, बोटलर्स नेपालले पनि स्वामित्व बिक्री गरेको ६ वर्षसम्म सरकारलाई जानकारी नै गराएन,’ स्रोतले भन्यो, ‘राज्यलाई कमजोर देखेर उनीहरुले हेपेका हुन् ।’

गोप्य उजुरीका आधारमा बोटलर्स नेपालमाथि लामो समयदेखि विभागले निगरानी बढाएको थियो ।

बोटलर्स नेपाल सार्वजनिक कम्पनी हो । नेपाल स्टक एकसचेञ्जमा यसको सेयर सूचिकृत छ । बोटलर्स नेपाल अन्तर्गत अहिले नेपालमा तीन वटा कम्पनी बोटलर्स नेपाल, बोटलर्स नेपाल तराई लिमिटेड र ट्रोइका ट्रेडर्स प्रालिले कारोबार गर्दै आएका छन् ।

सेयर स्वामित्व किनबेच भएको वर्ष सन् २०१४ मा स्टक एक्सचेन्जमा औसत साढे१६ रूपैयाँमा प्रतिसेयर कारोबार भएको थियो ।

बोटलर्स नेपालको अधिकृत पुँजी ४३ करोड र चुक्ता पुँजी १९ करोड ४८ लाख रूपैयाँ छ ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा ३ अर्ब रूपैयाँ नाफा कमाएको थियो । चुक्ता पुँजीको १५००/२००० प्रतिशत बढी नाफा कमाउने कम्पनीको सेयरमूल्य निकै महंगो छ । र, यो कम्पनी सर्वाधिक धेरै लाभांश दिने कम्पनी हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार भएको कारोबारमा बोटलर्स नेपाल (तराईं)को प्रतिकित्ता सेयर मूल्य ८ हजार ६ सय ९० रुपैयाँ र बेटलर्स नेपाल बालाजुको प्रतिकित्ता सेयर मूल्य १८६० रुपैयाँ छ ।

बोटलर्स तराईको बजार पुँजीकरण साढे १० अर्ब रुपैयाँको र बोटलर्स बालाजुको साढे ३ अर्ब रुपैयाँ बजार पुँजीकरण छ । दुई वटै जोड्दा १४ अर्ब रुपैयाँभन्दा बढी बजार पुँजी करण छ ।


पुष्प दुलाल