कोरियाले प्राविधिक तथा व्यावसायिक शिक्षामा सहयोग बिस्तार गर्दै



काठमाडौं । दक्षिण कोरियाले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा सहयोग बिस्तार प्रतिबद्धता गरेको छ ।

बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको शिष्टाचार भेटमा नेपालका लागि कोरियाका राजदूत पार्क योङसिक प्रतिबद्धता गरेका हुन् ।

उनले कोरियाको निजी क्षेत्रबाट थप लगानी बढाउन समन्वय गर्ने बताए । साथै ईपीएसमार्फत् नेपाली रोजगारीका लागि कोरियामा कार्यरत जनशक्ति तथा त्यहाँबाट फर्केर आएका जनशक्तिलाई उद्यमशिलता प्रदान गरी व्यावसायिक बनाउने कार्यक्रम रहेको जानकारी गराए ।

भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे छलफल भएको छ । अर्थमन्त्री पौडेलले कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) मार्फत कोरियाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको क्षेत्रमा पुर्याएको सहयोगप्रति आभार व्यक्त गरे ।

नेपाल र कोरियाबीच व्यापार, लगानी र रोजगारीको क्षेत्रमा समेत आपसीसहकार्य बढदै गएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले ‘ईपीएस’ (ईम्लाएमेन्ट प्रमिट सिस्टम)मार्फत् नेपाली रोजगारीका लागि कोरियामा जाने र त्यहाँ सिकेको सीप नेपालमा प्रयोग गर्दा देशलाई फाइदा पुगेको बताए ।

उनले कोभिड–१९ विरुद्ध नेपालले गरेको प्रयासमा कोरिया सरकारको सहयोग र सहकार्यका लागि धन्यवाद दिएका छन् ।

अर्थमन्त्री पौडेलले नेपालमा पर्यटक, व्यापारी तथा लगानीकर्ताका रुपमा कोरियन जनताको उपस्थिति बढाउन थप सहयोगको लागि आग्रह गरे ।

उनले कोरिया सरकारको सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरुका लागि मन्त्रालयको सहयोग साथ र समर्थन रहने बताए ।

राजदूत योङसिकले कोभिड–१९को रोकथाम, नियन्त्रण तथा उपचारमा कोरियन सरकारको सक्रिय योगदान हुने विश्वास दिलाएका छन् ।


क्लिकमान्डु