एकैदिन १ लाख ८२ हजारको सामग्री नष्ट



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन १ लाख ८२ हजार ६ सय ९० मूल्य बराबरको सामग्री नष्ट गरेको छ ।

पछिल्लो समय विभागले तीव्ररुपमा अनुगमन गरेसँगै मंगलबार मात्रै खाना अयोग्य वा म्याद सकिएका सामग्रीको नष्ट गरेको हो ।

विभागले मंगलबार १७ वटा स्टोर तथा पसल अनुगमन गर्दा दुई व्यवसायीको स्टोरबाट उक्त सामग्री नष्ट गरिएको जनाएको छ ।

जसमा काठामाडौं नगरपालिका ३५ का आयातकर्ता शुभश्री इन्टरप्राइजेजबाट १ लाख १२ हजार ८ सय ५० र पशुपति पेन्ट्स प्रालिबाट ६९ हजार ८ सय ४० रुपैयाँ बराबरको सामग्री नष्ट गरेको छ ।

संरक्षण विभागका निर्देशक एवम् प्रवक्ता शिवराज सेढाइका अनुसार पछिल्लो समय निर्माण सामग्रीमा अत्यधिक मूल्य बढाएकाले निर्माण सामग्रीमा अनुगमन तीव्र थाल्दा मंगलबार २ वटा पेन्ट्स कम्पनीको सामग्री नष्ट गरेको बताए ।

‘स्टोरमा उपलब्ध रङरोगन म्याद सकिएको र म्याद भएका सामग्री एउटै ठाउँमा राखेकाले बेच्न राखेको आशंकामा विभागले नष्ट गरेको हो,’ उनले क्लिकमान्डूसँग भने ।

साथै सोही दिनमा ४ व्यवसायीलाई कारबाहीको दायरामा ल्याई जरिवाना गरेको छ । विभागले जरिवाना गरेकोमा डेक्कन ईन्क प्रालिलाई १० हजार, ललितपुरमा रहेको मुस्ताङ अर्गानिक प्रभिजन एण्ड सप्लायर्स प्रालि र मुन्ना खाद्य स्टोरलाई ५÷५ हजार जरिवाना गरी जम्मा २० हजार जरिवाना गरेको विभागको तथ्याङ्मा उल्लेख छ ।


क्लिकमान्डु