भिजिट भिसामा विदेशिएकालाई ३० दिनभित्र विभागमा उजुरी गर्न अनुरोध



काठमाडौं । कोरोना महामारीकै समयमा भिजिट भिसामा विदेशिएकालाई ३० दिनभित्र उजुरी गर्न वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ ।

पछिल्लो समय विभिन्न म्यानपावर कम्पनीले खाडीलगायत अन्य मुलुकमा वैदेशिक रोजगारीमा भिजिट भिसामा पठाएको सूचना प्राप्त भएसँगै उजुरी दिन विभागले अनुरोध गरेको हो ।

विभागका अनुसार वैदेशिक रोजगारका लागि पठाउने भन्दै राहदानी र चर्को रकम असुली गरी अवैध तरिकाले पठाउने सूचना प्राप्त भएको जनाएको छ ।

साथै, विभागमा उजुरी प्राप्त भएकै आधारमा विभागबाट खटिएको आकस्मिक अनुगमन टोलीले विभिन्न म्यानपावरमा र ट्राभल एण्ड टुर्समा आकस्मिक अनुगमन गर्दा भिजिट भिसामार्फत् व्यक्तिहरू पठाउने प्रमाण फेला परेको विभागको भनाइ छ ।

यसले गर्दा उक्त कार्यमा संलग्न म्यानपावरलाई आवश्यक कागजात नियन्त्रणमा लिई संस्था उपर छानविन भइरहेको जनाएको छ ।

वैदेशिक रोजगारीका लागि भिजिट भिसा गई अलपत्र परेका, जाने भनी रकम र रहादानी बुझाइएका व्यक्तिबाट आफूहरू ठगीमा परेको भनि विभाग समक्ष उजुरी प्राप्त भइरहेको विभागको भनाइ छ ।

यसरी अवैधानिकरुपमा भिजिट भिसाबाट गएका, गएर अलपत्र परेका, जाने भनी राहदानी र रकम बुझाएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन अनुरोध गरेको छ ।

साथै, भिजिट भिसामा पठाउने म्यानपावर, व्यक्ति वा ट्राभल एण्ड टुर्सको स्पष्ट नाम ठेगानासहित विभागको इमेल ठेगाना [email protected] मा मेल गरी उजुरी दिन पनि विभागले अनुरोध गरेको छ ।


क्लिकमान्डु