‘स्टार्टअप’लाई सरकारले ध्यान नदिँदा आर्थिक विकास भएनः माधवकुमार नेपाल



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले नवप्रवर्तन उद्योग (स्टार्टअप) लाई प्राथमिकता नदिँदा आर्थिक विकासको गति कमजोर भएको बताएका छन् ।

नवप्रवर्तन उद्योगहरुमा पूँजीको व्यवस्थापन र बजारको पहुँच विकास गर्न सरकारले सहयोग गर्नुपर्ने बेला आएको पनि पूर्वप्रधानमन्त्री नेपालले बताए ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नवप्रवर्तन उद्योगहरुलाई उत्पादनसँग जोडेर अगाडि बढ्ने विषयमा राज्यले तालमेल मिलाउन नसकेको पनि बताए ।

साना तथा घरेलु उद्यमीहरुलाई प्रोत्साहन गर्ने कुरामा राज्यले जिम्मेवारी लिनुपर्ने समेत उनले बताए । कृषि उत्पादनमा राज्यले सहयोग गरी बजारमा सुपथ मूल्यमा वस्तु पुर्याउने विषयमा समेत राज्यले ध्यान दिनुपर्नेमा नेपालले जोड दिए ।

नवप्रवर्तन उद्योगहरुमा पूँजीको परिचालन गरी उत्पादन बढाउँदै आयातित वस्तुहरुलाई विस्थापित गर्ने तर्फ अर्थतन्त्रलाई उन्मुख गर्नुपर्ने उनको भनाइ छ । यसबाहेक नागरिकस्तरमा स्वदेशी वस्तुको उपभोग गर्नुपर्छ भन्ने भावना जागृत गर्न समेत सकरारले भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

नवप्रवर्तन उद्योगको पूँजी र बजारलाई एकसाथ व्यवस्थापन गर्ने कुरामा राज्यको सहयोग अपरिहार्य भएको पनि पूर्वप्रधानमन्त्री नेपालले बताए ।

नेपालको अर्थतन्त्रको प्रमुख आधार कृषि भएकाले त्यसमा आधारित उद्योग व्यवसायको प्रवर्धनमा जोड दिनुपर्ने पनि उनको भनाइ छ ।

जनसंख्याको सबैभन्दा ठूलो हिस्सा अहिलेपनि कृषिमा निर्भर रहेकोले कृषिमा आधारित अर्थतन्त्रलाई नै प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

किसानले उत्पादन गरेका सबै वस्तुको बिक्री हुने ग्यारेन्टी सरकारले लिएमा व्यवसायिक कृषि उत्पादनतर्फ युवाहरुको आकर्षण बढ्ने पनि पूर्वप्रधानमन्त्री नेपालले बताए । यसबाट रोजगारी बढ्न गई देशको अर्थतन्त्रले गति लिने विश्वास पनि व्यक्त गरे ।


क्लिकमान्डु