दरबार हाइस्कुलमा विद्यार्थी खचाखच



काठमाडाैं। नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने रानीपोखरीस्थित दरबार हाइस्कुल अहिले सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ बनेको छ ।

विसं २०७२ को भूकम्पले पूर्णरुपमा क्षति भएकोे सो स्कूल भवनलाई आकर्षक ढङ्गले पुनर्निर्माण गरिएपछि नयाँ विद्यार्थी आउने क्रम बढेको छ ।

पाँच वर्षअघिको गोरखा भूकम्पले यसलाई खण्डहरमा परिणत गरिदिएसँगै अहिले प्रतापमल्लकालीन रानीपोखरी र जङ्गबहादुरकालीन दरबार हाइस्कूल दुबैको मुहार फेरिएको छ । अहिले ती सम्पदा झकिझकाउ देखिन्छन् ।

नेपाल सरकारले काठमाडौँ उपत्यकाका महत्वपूर्ण प्राकृतिक र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्ने क्रममा पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको सो ऐतिहासिक स्कूलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन् ।

नयाँ भवनमा प्रयोशालासमेतको सुविधा रहेको र अंग्रेजी माध्यममा पढाइ हुने गरेको छ । अहिले भानु माविका कक्षा ६, ७ र ८ मा विद्यार्थी सङ्ख्या निर्धारित संख्यामा पुगेको छ ।

काठमाडौँ महानगरपालिका वडा नं २७ का वडा सदस्य परिवेशमान बज्राचार्यका अनुसार अब नयाँ भर्ना गर्न आउने विद्यार्थीका लागि उक्त कक्षामा स्थान नै छैन । विद्यालयमा प्रतिकक्षा ३६ जना बस्न मिल्ने गरी पूर्वाधार तयार गरिएको छ ।

भवनको निर्माणसँगै भानु माविमा २८७ र संस्कृत माविमा ३०० गरी विद्यार्थी सङ्ख्या ५८७ पुगेको छ । विद्यालय नवीनतम प्रविधिमैत्री भएका छन् । विद्यालय व्यवस्थापन समितिले शिक्षकलाई तालीम दिने कामसँगै विद्यालयको प्रचारप्रसारसमेत गरिरहेको छ ।

विश्वव्यापी कोभिड–१९ को जोखिमका कारण अहिले विद्यार्थीले घरबाटै इन्टरनेटको सहयोगमा अनलाइन कक्षा लिइरहेका छन् । पहिले दुई विद्यालयमा गरी कूल ३०० विद्यार्थी थिए ।

‘अहिले हरेक दिन नयाँ भर्नाका लागि अभिभावकसहित विद्यार्थीहरू आउने गरेका छन् । यसरी नै आकर्षण बढ्ने हो भने आगामी शैक्षिक सत्रसम्ममा सबै कक्षाहरू भरिने छने,’ सदस्य बज्राचार्यले भने ।

भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भए पनि यसको स्वरुप पहिल जस्तै देखिन्छ । नौ रोपनी जमीनमा निर्माण गरिएको सो विद्यालय भवन चारतले छ जसमा ६० कक्षाकोठा छन् ।

भवनभित्र विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेनागृह, दुई पुस्तकालय र ठूलो बैठक कक्षसमेत व्यवस्थित रुपले निर्माण गरिएका छन् ।

गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणसँगै सो विद्यालय भवनको उद्घाटन गरेपछि दरबार हाइस्कूल पुनः सञ्चालनमा आए पनि कोरोना महामारीका कारण हालसम्म विद्यालय बन्द रहेको छ ।

भानु माविका प्रधानाध्यापक अखिलेशप्रसाद आजाद आगामी दिनमा आधुनिक र सुविधासम्पन्न भौतिक संरचनाका साथै प्रयोगशालासमेत रहेकाले आशानुरुप विद्यार्थी आउने बताउँछन् । उनले आगामी शैक्षिक सत्रदेखि बालविकास कक्षा सञ्चालनका लागि समेत तयारी पूरा गरिएकोे जानकारी दिए ।


क्लिकमान्डु