किन बढ्यो जलविद्युत् कम्पनीको सेयर ?



काठमाडौं । सेयर बजारमा उछाल आएसँगै जलविद्युत कम्पनीका लगानीकर्ता मालामाल बनेका छन् । यो साताको अन्तिम कारोबार दिन बिहीबार मात्रै जलविद्युत समूहको उपसूचक १०.३६ अंकले बढेको छ ।

यो साताभरको सबइन्डेक्स हेर्दा २०७.१५ अंकले बढेर १७०७.१३ बिन्दुमा पुगेको छ । बिहीबार जलविद्युत समूहको उपसूचक १०.३६ अंकले बढेको छ । यो समेत हेर्दा २१७.५१ अंकले बढेको छ ।

यस्तै एक महिनामा जलविद्युत समूहको सब इन्डेक्स २७९.३७ बढेको छ । बिहीबारको समेत हेर्दा २८९.७३ अंकले बढेको छ ।

एक महिना अघि जलविद्युत समूहको सब इन्डेक्स १४२७.७६ बिन्दुमा रहेकोमा अहिले १७०७.१३ बिन्दुमा रहेको छ ।

अहिले नेप्सेमा सूचिकृत सबै जलविद्युत कम्पनीको सेयर मूल्य १०० रुपैयाँभन्दा बढी नै छ । केही समय अघिसम्म जलविद्युत कम्पनीको १०० रुपैयाँको किनेको सेयर १०० भन्दा तल ४२ रुपैयाँसम्म आएको थियो । तर अहिले कम्पनीको सेयर मूल्यमा उछाल देखिएको छ । जसले गर्दा यो अवधिमा गुमाएका लगानीकर्ताले कमाउने राम्रो अवसर पाएका छन् ।

आईपीओमाभन्दा सस्तो मूल्यमा जलविद्युत कम्पनीको सेयर पाएपछि लगानीकर्ताको ध्यान त्यसतर्फ गएको छ ।

अहिले बैंक ब्याजदर घटेको छ । १४ प्रतिशतसम्म पुगेको कर्जाको ब्याजदर अहिले ८ प्रतिशतमा झरेको छ । ४ प्रतिशत ब्याजदर कम हुँदा हिजोको तुलनामा १२ प्रतिशतभन्दा बढी लाभांश दिन सक्ने क्षमता जलविद्युत आयोजनाको हुने जानकारीहरुले बताउँदै आएका छन् ।

जलविद्युत आयोजनाको मुख्य कच्चा पदार्थ भनेको नै बैंकको ब्याज हो । बैंकको ब्याज बढी हुँदा लाभांश कम हुन्छ कम हुँदा बढी हुन्छ ।

जलविद्युत आयोजनाहरु खराब र लागत बढ्नुमा एउटा कारण बैंकको ब्याजदर पनि हो । हिजोको दिनमा ६ प्रतिशत ब्याजदरमा लिएको ऋण ८ हुँदै १४ प्रतिशतसम्म पुग्यो । जसले गर्दा कम्पनीले लाभांश दिने सक्ने क्षमतामा ह्रास आएको थियो । अहिले ३० वर्षपछि सरकारले अहिले सोलारले उत्पादन गर्ने बिजुलीमा सरकारले ५० प्रतिशतसम्म ब्याज अनुदान दिएको छ । त्यसको प्रभाव जलविद्युत कम्पनीको सेयरमा परेको छ ।

जलविद्युत् कम्पनीको अनुमति पत्र हाल कायम रहेको ३० वर्षलाई ५० वर्ष पुर्याउने चर्चा रहेको छ । जसले गर्दा पनि कम्पनीको सेयर मूल्य बढेको चर्चा शुरु भएको छ ।

यस्तै यो वर्षको राम्रो मौसमको कारण जलविद्युत् क्षेत्रमा कुनै असर परेन । कोरोनाले पनि जलविद्युत् क्षेत्रलाई धेरै प्रभावित नपारेका कारण यसमा लगानीकर्ताको ध्यान गएको चर्चा शुरु भएको छ । जसको लाभ लगानीकर्ताले लिइरहेका छन् ।


क्लिकमान्डु