नागरिक लगानी कोषको स्टक डिलर कम्पनीले सुरु गरेन कारोबार, अनुसन्धानमा मात्र सीमित



काठमाडौं । नागरिक लगानी कोषको सहायक कम्पनी ‘नागरिक स्टक डिलर कम्पनी’ ले कहिलेबाट पूँजी बजारमा कारोबार सुरु गर्ने भन्ने अझै अनिश्चित रहेको छ ।

अहिले कम्पनीले पूर्वाधार निर्माणका साथै अध्ययन, अनुसन्धानमा जोड दिएरहेको छ । तर कारोबार कहिलेबाट गर्ने भन्ने अन्योलता रहेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) महेश्वर लाल श्रेष्ठका अनुसार अहिले भौतिक पूर्वाधार निर्माणको साथै बजारको बारेमा अध्ययन अनुसन्धानको काम तिब्र रुपमा भइरहेको छ ।

पूर्वाधार निर्माणको क्रममा सफ्टवेयर इन्स्टल गर्ने, त्यसको लागि कर्मचारीलाई आवश्यक तालिम दिने, नेप्सेबाट स्वीकृत गर्ने काम भइरहेको सिइओ श्रेष्ठले बताए ।

त्यसको लागि यति नै समय लाग्ने भन्दा पनि यो काम अन्तिम चरणमा पुगेको बताए । ‘हामी यो काम छिटो भन्दा छिटो गर्ने तयारीमा रहेका छौं’ उनले भने ‘यसको लागि यति नै समय भन्नु भन्दा पनि चाँडो भन्दा चाँडो काम सक्नेगरी काम गरिरहेका छौं ।’

यो बजार निकै सेन्सेटिभ रहेको भन्दै अहिले बजारको बारेमा अध्ययन, अनुसन्धान, विश्लेषण जारी रहेको उनको भनाइ छ । कोषले काम सुरु गरेपनि बजारलाई स्थापित गर्ने गरी काम गरिरहेका छौं ।

कम्पनीमा कोषको ५१ प्रतिशत (२ अर्ब ५५ करोड), नेपाल टेलिकमको ९ प्रतिशत (४५ करोड), पुनर्बीमा कम्पनीको १० प्रतिशत (५५ करोड) सेयर स्वामित्व रहेको छ । जसमा संस्थागत रुपमा ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

यसमा सर्वसाधारणको लागि ३० प्रतिशत (१ अर्ब ५० करोड रुपैयाँ) सेयर छुट्याएको छ । कम्पनी सञ्चालमा आएको २ वर्षमा सर्वसाधारणलाई सेयर जारी गर्ने छ ।

अहिले कम्पनीको चुक्ता पुँजी ५ अर्ब र जारी पुँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीले विभिन्न कम्पनीको धितोपत्रमा लगानी गर्ने छ । हाल नागरिक लगानी कोषले पनि धितोपत्र बजारमा लगानी गरेको छ । कोष र कम्पनीले गर्ने कारोबारमा भने कुनै पनि सम्बन्ध हुँदैन ।

कम्पनीले काम कारबाही सञ्चालनमा आएपछि धितोपत्र बजारमा अस्वभाविक रुपमा हुने उतारचढाव कम हुने, बजारमा स्थिरता आउने अपेक्षा रहेको छ । लगानीकर्ताले लामो समयदेखि कम्पनीले चाँडो भन्दा चाँडो कारोबार गर्नु पर्यो भन्दै माग गर्दै आएका छन् ।

सरकारले आर्थिक वर्ष २०७२/०७३ को बजेटमा नागरिक लगानी कोषलाई मार्केट मेकरको रुपमा बजारमा परिचालन गर्ने उल्लेख गरेको थियो ।


क्लिकमान्डु