धरहरा निर्माणको ठेक्का पाएको रमण कन्स्ट्रक्सनसहित ५ कम्पनीविरुद्ध ४१ करोडको मुद्दा



काठमाडौं । धरहरा निर्माणको जिम्मा पाएको रमण कन्स्ट्रक्सनसहित ५ वटा कम्पनीविरुद्ध राजस्व अनुसन्धान विभागले ४१ करोड रुपैयाँ बराबरको राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दर्ता भएको छ ।

विभागले मंगलबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा ४१ करोड ३ लाख रुपैयाँ बिगोसहित मुद्दा दर्ता गरेको हो ।

धरहरा निर्माणको जिम्मा पाएको रमण कन्स्ट्रक्सन प्रालिका विरुद्ध विभागले २० करोड ८७ लाख ६४ हजार ६२९ रुपैयाँ बराबरको बिगो असुल गरी जरिवाना र कैद माग दावी गरिएको छ ।

उक्त कम्पनीले वस्तु तथा सेवाको खरिद नगरी झुट्टा तथा नक्कली बिक्री बिजक बनाइ राजस्व चुहावट गरी मूल्य अभिवृद्धि कर तथा आयकर राजस्वको चुहावटमा कसुर गरेको विभागको ठहर छ ।

कम्पनीले मूल्यअभिवृद्धि करतर्फ ७ करोड ५४ हजार रुपैयाँ, आयकरतर्फ १२ करोड ११ लाख रुपैयाँ र लाभांश करतर्फ १ करोड ७५ लाख रुपैयाँ राजस्व चुहावट गरेको छ ।

त्यसैगरी राजस्व छली गर्ने उदरपुर जिल्ला त्रियुगा नगरपालिकास्थित राउत ट्रेड कन्सर्नका कमलबहादुर राउत समेत २ जनाबाट ४ करोड १५ लाख ४६ हजार १६५ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद मागदावी गरी उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।

विभागले दोलखा जिल्ला तामाकोसी गाउँपालिकास्थित पीआरके ट्रेड इन्टरनेशनलले ५ करोड ५६ लाख ८ हजार ७३८ रुपैयाँ बराबरको बिगो दावीसहित मुद्दा दर्ता गरेको छ ।

त्यसैगरी विभागले बाराको परवानीपुरस्थित मिनजा इन्टरनेशनल प्रालिका सञ्चालक रामबाबु साहानीबाट २ करोड १९ लाख १२ हजार ३९३ रुपैयाँ राजस्व छली गरेको आरोपमा मुद्दा दर्ता गरेको हो । साथै पर्सा बेलवा गाविसस्थित क्रेटा इन्टरप्राइजेजका प्रोप्राइटर नबिकरिम अन्सारीसमेत ३ जना विरुद्ध ८ करोड २४ लाख ६० हजार ७६५ रुपैयाँ राजस्व छली गरेको आरोपमा बिगो दावी, जरिवाना र कैद माग गरी मुद्दा दर्ता गरेको छ ।


क्लिकमान्डु