ब्रोकर कमिशन अझै एक महिना नघट्ने, अर्थमन्त्रालयले दियो दररेटसहितको प्रस्ताव



काठमाडौं । नेपाल धितोपत्र बोर्डले अझै एक महिनासम्म ब्रोकर कमिशन नघटाउने भएको छ ।

यसअघि नै धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले कात्तिक १ गतेदेखि ब्रोकर कमिशन घटाउने भनेर सार्वजनिकरुपमा नै प्रतिबद्धता जनाएका थिए ।

उनले भनेको समय डेढ महिना कटदासम्म ब्रोकर कमिशन घटाइएको छैन । त्यसैले अझै १ महिना ब्रोकर कमिशन घटने सम्भावना छैन ।

यतिबेला बोर्डका अध्यक्ष ढुंगाना पारिवारिक कारण अमेरिकामा रहेका छन् । उनी आउन अझै तीन साता लाग्ने बताइएको छ । उनी अमेरिकाबाट फर्केपछि मात्रै कमिशन घटाउने विषयमा छलफल हुनेछ ।

बोर्डले उप–निर्देशक डा. नवराज अधिकारीको संयोजकत्वमा ब्रोकर कमिशन घटाउन अध्ययन समिति नै बनाएको थियो । उक्त समितिले बनाएको प्रतिवेदन बोर्डको अध्यक्ष समक्ष बुझाइसकेको छ । तर त्यो प्रतिवेदन लामो समयसम्म पनि सार्वजनिक भएको छैन ।

बोर्डले उक्त प्रतिवेदन भएको सुझाव र सरोकारवाला निकायसँग आवश्यक छलफल गरेर कमिशनको नयाँ दररेट कायम गर्नुपर्ने हो । यसका लागि सरोकारवाला पक्ष नेपाल स्टक एक्सचेन्ज (नेप्से), ब्रोकर, लगानीकर्ता र सिडिएससीसँग छलफल गर्नुपर्ने हो । बोर्ड स्रोतका अनुसार अहिलेसम्म सिडिएससीसँग मात्रै छलफल भएको छ । बाँकी निकायसँग छलफल भएको छैन ।

यतिबेला ब्रोकर कमिशन घटाउन लगानीकतार्एको मात्रै नभएर अर्थमन्त्रालय समेत तातेको छ ।

समाचार स्रोतका अनुसार केही दिनअघि नेप्से र धितोपत्र बोर्डका उच्च अधिकारीलाई बोलाएर ब्रोकर कमिशन घटाउन दबाब समेत दिएको छ ।

तर बोर्डमा अध्यक्ष नहुँदा कमिशन घटाउने प्रस्ताव सञ्चालक समितिको बैठकमा लैजान समस्या भएको छ । त्यसैले ब्रोकर कमिशन घटन अझै एक महिना लाग्ने देखिएको छ ।

यतिबेला लगानीकर्ताहरुले ब्रोकर कमिशन घटाएर ०.२५ प्रतिशत कायम गर्न माग गरिरहेका छन् । यता मन्त्रालयमा भएको छलफलमा ब्रोकर कमिशन ०.२ देखि ०.३५ प्रतिशत हुने भएको छ ।

मन्त्रालयले ०.२ देखि ०.३५ प्रतिशत ब्रोकर कमिशन कायम गर्नुपर्ने भनिरहेको छ । त्यति मात्रै होइन अब ब्रोकर कमिशन घटाउँदा ब्रोकर, नेप्से, धितोपत्र बोर्ड र सिडिएससीको कमिशन छुटिने भएको छ ।

अहिलेसम्म लगानीकर्ताले तिरेको कमिशनबाट ब्रोकरलाई २० प्रतिशत र त्यहीबाट सिडिएससीलाई कमिशन जाने गरेको छ । यस्तै लगानीकर्ताले धितोपत्र बोर्डलाई छुट्टै ०.०१५ प्रतिशत कमशिन तिर्ने गरेका छन् ।

अब भने सबैको कमिशन छुट्टाछुट्टै हुने भएको छ । लामो समयदेखि लगानीकर्ताले ब्रोकर कमिशन बढी भयो भनेर घटाउन माग गरिरहेका छन् ।
यसअघि नै नेपाल इन्भेष्टर फोरम, नेपाल पुँजीबजार लगानीकर्ता संघ र सेयर लगानीकर्ता संघलगायत सबैले ब्रोकर कमिशन घटाउन दबाब दिइरहेका छन् । बोर्डले भने अटेरी गरिरहेको छ ।

स्रोतका अनुसार बोर्ड भने ब्रोकरको र नेप्सेको कमिशन घटाउने तयारीमा लागेको छ तर आफूले पाउने कमिशन भने नघटाउने पक्षमा देखिएको छ ।

नेपालको पुँजीबजार पूर्णतया अनलाइन प्रणालीमा गएको, ब्रोकरको काम कम भएको, कारोबार रकम पनि झण्डै १० अर्बको को हाराहारीमा पुगेको छ ।

हाल ब्रोकर कम्पनीको कमिशन दैनिक १२ लाखभन्दा बढी छ । थोरै लगानीमा ब्रोकरहरुले धेरै आम्दानी गरिरहेका छन् । यो बेलामा कमिशन घटाउनुपर्ने लगानीकर्तादेखि अर्थमन्त्रालयको समेत दबाब छ ।

लकडाउन अघि ब्रोकर कार्यालयबाट काम गर्नुपर्दा वा लगानीकर्ता ब्रोकरको कार्यालयमा पुग्दा उनीहरुको खर्च बढ्ने गरेको थियो ।

लकडाउन यता लगानीकर्ता चेक लिएर बैंकमा जानुपर्ने, क्लियरिङ शुल्क तिर्नु नपर्ने भएका कारण पनि ब्रोकर कमिशन घटाउनु पर्ने लगानीकर्ताको माग रहेको छ ।

अहिले लगानीकर्ताहरुले सेयर कारोबार गर्दा ब्रोकरलाई ०.४ देखि ०.६ प्रतिशतसम्म कमिशन तिर्नुपर्छ । जसमा ५० हजारसम्मको कारोबार गर्दा ०.६, ५० हजार १ रुपैयाँ देखि ५ लाखसम्म ०.५५, ५ लाख १ रुपैयाँदेखि २० लाखसम्म ०.५, २० लाख १ रुपैयाँ देखि १ करोडसम्म ०.४५ र १ करोड १ रुपैयाँभन्दामाथीको कारोबारमा ०.४ प्रतिशत तिर्दै आएका छन् ।


क्लिकमान्डु