कोरोनाको एन्टिजन परीक्षण शुरू, आधा घण्टामा रिपोर्ट, शुल्क झण्डै आधा सस्तो



काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना परीक्षणको नयाँ विधि एन्टिजेन परीक्षण शुरु गरेको छ ।

पछिल्लो समय कोरोनाको संक्रमण समूदायस्तरमा शुरू भई जोखिम बढेकाले एन्टिजनले परीक्षण शुरू गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार एन्टिजेन परीक्षण सरकारले पहिलो पटक समूदायस्तरमा शुरु गर्न लागेको बताए ।

‘सरकारले केही दिन अगाडिबाट परीक्षण गर्ने निर्णय बनाएको थियो । आजबाट शुरु गरेको छ,’ उनले क्लिकमान्डूसँग भने, ‘एन्टिजेनको परीक्षणबाट ठूलो संख्यामा रहेको मानिसको कोरोना संक्रमणको छिट्टै परीक्षण गरी पहिचान गर्नेछ ।’

उनका अनुसार भोलिका दिनमा आर्मीको ब्यारेक, स्कुल तथा कलेजमा धेरैको संख्यामा एकैचोटी र तुरुन्तै परीक्षण गर्नुपर्ने अवस्थामा एन्टिजेन परीक्षण हुने बताए । साथै, पिसिआर परीक्षण गरेर रिपोर्ट आउन धेरै समय लाग्ने भएकाले छिटो गर्नुपर्ने स्थानमा एन्जिेनको प्रयोगबाट आधा घण्टामै रिपोर्ट आउने उनको दाबी छ ।

साथै, पिसिआरको तुलनाको सस्तो पर्ने उनको भनाइ छ । उनका अनुसार एन्टिजेन परीक्षणका लागि करिब एक हजारदेखि १५ सयसम्म पर्न सक्ने उनले जानकारी दिए ।

हाल सरकारबाट सञ्चालित अस्पताल तथा निजी अस्पतालमा कोरोना परीक्षणको मूल्य २ हजार छ । यसले गर्दा एन्टिजेनको प्रयोगबाट छिटो, सस्तो र धेरै संख्यामा परीक्षण गर्ने उनले बताए ।

पहिलो चरणमा काठमाडौं महानगरपालिका जोखिमपूर्ण स्थान र पहिचान गरी परीक्षण गर्न लागेको उनले जानकारी दिए । जसमा पहिलो चरणमा काठमाडौं महानगरपालिकाको ४, ७ ,९ वडामा र भोलि (मंगलबार) र मंसिर १७ मा १४, १६, १० वडाका जोखिम स्थान तोकी परीक्षण हुने भएको छ ।

महानगरपालिकाले जोखिम पहिचान गरेको गौरीघाट, चाबहिल, बिशालनगर, धुम्बाराही, बत्तिसपुतली र मित्रपार्कमा आजबाट एन्टिजेन परीक्षण गरिएको छ ।

साथै, एन्टिजेनको प्रयोगबाट प्रभावकारी परीक्षण भएमा उपत्यका बाहिर पनि छिट्टै उपलब्ध गराउने उनले जानकारी दिए ।


क्लिकमान्डु