किशोर दाईसँग एजेन्डा छैन, उमेरले सिनियर हुँदैमा नेतृत्व पाइँदैन: चन्द्र ढकालको विचार



कोरोनाका कारण सम्भवत अहिले हामी इतिहासको सबैभन्दा कठीन मोडमा उभिएका छौं । त्यत्तिकै त नभनौं, तर केही हदसम्म नेपाल उद्योग वाणिज्य महासंघ विगत केही समयदेखि कठीन अवस्थामै छ । जसरी कोरोनाको उपचारका लागि अहिले हामी भ्याक्सिनको प्रतिक्षामा छौं ।

त्यसैगरी हामी महासंघको कठीन अवस्था पार लगाउनका लागि करिब ८ महिना कुर्नु पर्ने अवस्था आयो । तर खुसीको कुरा अहिले महासंघको निर्वाचनमा उत्साहका साथ सहभागी भइरहेका छौं ।

आशा गरौं, आगामी केही हप्ता वा महिनापछि कोरानाबाट बच्नका लागि भ्याक्सिनको प्रतिक्षा पूरा हुनेछ । र, उद्योगी व्यवसायीहरुले पछिल्लो ८ महिनामा भोगेको पीडा नयाँ नेतृत्वले काम गर्नेछ ।

करिब डेढ महिना पहिला म कोरोना भाइरस संक्रमणका कारण म मृत्यु र जीवनको दोसाँधमा पुगेर फर्किएको हुँ । र, आज यहाँ उभिएर बोल्न पाएको छु । अहिले वरिष्ठ उपाध्यक्षको उम्मेद्वार भएको छु । यहाँहरुले देखाउनु भएको माया र शुभेच्छाप्रति आभारी छु ।

कोरोनाका कारण चैतमा हुनुपर्ने महाधिवेशन स्थगित भयो । त्यो बेलामा आजको जस्तो कोरोनाको जोखिम त्यत्ति ठूलो थिएन । अर्को कुरा कोरोनाका कारण देशभित्र स्वास्थ्य तथा आर्थिक कठीनाइहरु सिर्जना भएका छन् ।

यदि समयमै महाधिवेशन भएको हुन्थ्यो भने नयाँ नेतृत्वले अर्कैरुपमा समाधानको बाटोमा जाने थियो भन्ने लाग्छ ।

उद्योग र व्यवसायमा जब हामीले अवसरहरु गुमाउँछौं, त्यसलाई रिकभर गर्नका लागि समय लाग्छ भन्ने कुरा यसबाट पनि सिक्यां । गाउँघरतिर हामी भन्ने गर्छौ, कि त पढेर जान्ने हुन्छ कि त परेर जान्ने हुन्छ । वास्तवमा मैले पनि धेरै हन्डर खाएर व्यवसायी यात्रामा परेर अगाडि आएको हुँ । म पढेरभन्दा पनि परेर अनुभव लिएको व्यक्ति हुँ ।

मैले छिटो महाधिवेशन गरौंभन्दा केही सीमित साथीहरुले मलाई प्रश्न पनि उठाउनु भयो । उहाँ आदरणीय साथीहरुलाई मैले यत्ति मात्रै भन्छु, पढेरभन्दा परेर जानेको ज्ञान कहिलेकाँही अनुकुल होकि भन्न चाहन्छु ।

म महासंघको नेतृत्वमा आएको एक दशकभन्दा बढी भइसक्यो । हामीलाई थाहा छ जबजब महासंघको नेतृत्व हुन्थ्यो । त्यसपछि महासंघमा जित्ने र हार्नेबीच निर्वाचनमा भन्दा बढी तिक्तता बढेर गएको हामीलाई थाहा छ ।

त्यो तिक्ततालाई मेटाउनका लागि पूर्वअध्यक्षज्यूहरुले वरिष्ठ उपाध्यक्षको निर्वाचन गरौं र उहाँ नै अध्यक्ष हुनुहुन्छ भन्ने आधारमा विधान संशोधन गरेर बनाइएको थियो ।

त्यसपछि भवाणी राणा उपाध्यक्ष हुँदै आज अध्यक्ष हुनुहुन्छ । अब शेखरजी अध्यक्ष बन्दै हुनुहुन्छ । अर्को कार्यकालको अध्यक्षका लागि एउटा मोर्चाबाट म उम्मेदवार छु भने अर्को मोर्चाबाट किशोर दाई चुनावी मैदानमा हुनुहुन्छ ।

हाम्रा अग्रजहरुले जुन सोचका साथ यो कार्यान्वयनमा ल्याउनु भयो । त्यसको नैतिक मूल्य रहेन कि भन्ने मलाई लाग्छ ।

यदि हामीले विधानको स्प्रिट अनुसार चुनावलाई अगाडि बढाएको भए तिक्तता केही कम हुन्थ्यो कि भन्ने मलाई लाग्छ । हाम्रा भावी अध्यक्ष शेखरजीले हामी दुबै अध्यक्षलाई बराबरीरुपमा नैतिक समर्थन गरेको भए हुन्थ्यो भन्ने मेरो चाहना मात्रै थियो ।

महासंघको चुनावलाई स्वस्थ प्रतिष्पर्धा मात्रै नठानेर केही साथीहरुले यसलाई जीवन र मरणको सवालमा रुपान्तरण गर्नु भयो । उहाँहरुलाई म के भन्न चाहन्छु भने यो महाधिवेशनपछि पनि हामीहरु धेरै टाढा हुँदैनौं । र, हुने पनि छैनौं । हाम्रो उद्यम, व्यापार, समाज र रितिरिवाजले तपाईं हामीलाई जोड्ने नै छ ।

महासंघ भोगेका र महासंघ बुझेका तपाईं साथीहरुलाई थाहा नै छ, महासंघको नेतृत्वका लागि हुने चुनाव र यसमा विजयी र पराजय हुने विषयले हाम्रो व्यवसायी सफलता र असफलता होइन । महासंघको नेतृत्वका लागि हुने जीतबाट प्राप्त हुने अवसर हाम्रो सामाजिक जिम्मेदारी बाहेक केही होइन ।

फेरि पनि हाम्रो व्यवसायीक र नैतिक सीमालाई नभत्काएको भए हुन्थ्यो कि भन्ने मलाई लाग्छ । तर पनि कोरोनाका कारण जति व्यवसायिक कठीनाइन भोगेका छौं, त्यसलाई किनारा लगाएर अगाडि बढाउँदै लैजानु पर्छ ।

अहिले सबैका समस्या छन् । ती सबै समस्याका महासंघमा आएर ठोकिन्छन् र नयाँ नेतृत्वले ती समस्या समधान गर्नुपर्छ । त्यसैका लागि म वरिष्ठ उपाध्यक्षका रुपमा टीमसहित उभिएको छु ।

मेरो टीम भौगोलिक, व्यवसाययक तथा हरेक हिसाबले सन्तुलित छ । यस टीममा जिल्ला नगर उद्योग वाणिज्यतर्फका उपाध्यक्ष गुणनिधी तिवारीजी जिल्ला नगरमा लामो समयसम्म काम गर्नु भएको अनुभवी हुनुहुन्छ । त्यहाँका समस्यासँग परिचित हुनुहुन्छ । त्यस्तै वस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठ हुनुहुन्छ । उहाा औषधि उत्पादनको क्षेत्रमा काम गरिरहनु भएको छ । एसोसिएटका तर्फबाट रामचन्द्र सांघाई उपाध्यक्षको उम्मेद्वार हुनुहुन्छ । उहाँ लामो समयदेखि १०औं हजार रोजगारी सिर्जना गरिरहनु भएको छ । हामी ४ जनामध्ये २ जनालाई नेपाल सरकारले सीआइपी सम्मान समेत गरिसकेको छ भने टीममा ठूला करदाताका रुपमा सम्मान गरिसकेको छ ।

यो टीमलाई यहाँहरुले सहयोग र समर्थन गरिदिनुहोस् । मैले जिल्ला नगरका स–साना समस्या समाधानदेखि ठूलो व्यवसायसम्मको नेतृत्व गर्नेछु । यसका लागि मैले आफूलाई योग्य उम्मेद्वार ठानेको छु ।

किशोर दाई र म दुबै जना उम्मेद्वार छौं । यस्तो अवस्थामा हामीले निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने गरी आफ्नो एजेन्डा बनाउनु पर्ने हुन्छ । भावी अध्यक्ष शेखरजीको एजेन्डा बोक्ने होइन । उहाँले गर्ने काम भोलिका दिनमा हामीले पनि गर्ने हो । तर म के भन्छु भने किशोर दाईले पनि आफ्नो एजेन्डा बोक्नुपर्छ । अरुले लिएको एजेन्डा लिने र सहयोगीको भूमिका निर्वाह गर्छु भन्ने व्यवसायीक हिसाबले ठीक होइन कि भन्ने लाग्छ ।

किशोर दाईलाई म अत्यन्तै आदर गर्छु । मभन्दा निकै सिनियर पनि हुनुहुन्छ । अहिले शेखरजी ३ वर्षको कार्यकालका लागि आउनु भएको छ । अहिले भवानी राणा अध्यक्ष भइसकेपछि निर्वातमान हुँदै हुनुहुन्छ । त्यसैले मलाई सिनियर हुँदैमा नेतृत्व पाउनु पर्छ र आम मतदाताले दिनुपर्छ भन्नेमा विश्वास गर्दिन् ।

महासंघको ५४औं महाधिवेशनमा सबै साथीहरुलाई महासंघको गौरव बढाउनका लागि मन, बचन र कर्मले लाग्नुपर्छ भन्न चाहन्छु । धन्यवाद ।

(महासंघको महाधिवेशनका क्रममा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकालले व्यक्त गरेको विचार)


क्लिकमान्डु