निम्बस ग्रुपको अगुवाइमा यस्तो बन्दैछ कृषि उत्पादन भण्डारण गर्ने वेरहाउस, डेढ अर्ब लगानी (भिडियो)



काठमाडौं । व्यावसायिक घराना निम्बस समूहको अगुवाईमा कृषि उत्पादनको भण्डारण गर्नका लागि वेरहाउस धमधम निर्माण भइरहेको छ ।

पहिलो चरणमा डेढ अर्ब रुपैयाँको लगानीमा सुनसरी, पर्सा र कपिलवस्तुमा धमाधम निर्माण भइरहेको निम्बस समूहका प्रवन्ध निर्देशक आनन्द बगरियाले जानकारी दिए ।

‘किसानले उत्पादन गरेको कृषि वस्तु भण्डारण गर्ने सुविधा होस् भनेर हामीले वेरहाउस सञ्चालनमाा ल्याउन लागेका हौं,’ बगरियाले क्लिकमाण्डूसँग भने, ‘कोरोना भाइरस र लकडाउन नभएको भए अहिलेसम्ममा वेरहाउस सञ्चालनमा आइसक्ने थियो, खासगरी लकडाउनले कम्तिमा पनि ६/७ महिना पछि धकेलेको छ ।’

त्यसका लागि ५० करोड रुपैयाँ चुक्ता पुँजीभ भएको नेपाल वेरहाउसिङ कम्पनी लिमिटेड स्थापना गरिएको छ । उक्त कम्पनीमा निम्बस ग्रुप, एनएमबि बैंक, शिखर इन्स्योरेन्स, टिम भेन्चर्स, ट्रु नट्स एसोसियट, श्रीनगर एग्रो लगायतको लगानी छ ।

पहिलो चरणमा सुनसरीको इटहरी नजिकै औरावनी, बीरगञ्जको जितपूर र कपिलवस्तुको चन्द्रौटामा वेरहाउस निर्माण कार्य थालिएको हो । यी ३ ठाउँमा बन्ने वेरहाउसको क्षमता ५५ हजार मेट्रिकटन हो ।

‘पहिलो चरणमा निर्माण गरिएका वेरहाउसमा मकै, गहुँ र भटमास मात्रै भण्डारण गरिने छ भने दोस्रो चरणमा बन्ने वेरहाउसमा धान, आलु र तरकारी तथा फलफुल भण्डारण गरिने छ,’ बगरियाले भने ।

केही वर्षभित्रै देशभर १०/११ वटा वेरहाउस खोल्ने लक्ष्य छ । संभावित ठाउँहरुको मोटामोटी पहिचान गरिसकिएको उनले जानकारी दिए । देशभर वेरहाउसमा ३ हजार करोड रुपैयाँसम्म लगानी गर्ने योजना भएको उनले सुनाए ।

‘सुनसरीको औरावनीमा रहेको वेरहाउसमा मेसिन जडान गरिसकिएको छ, आगामी चैतसम्म्मा यो सञ्चालनमा आउँछ,’ बगरियाले भने, ‘अरु २ वटा असारभित्रै सञ्चालनमा आउँछन् ।’

वेरहाउस रिसिभका आधारमा बैंकबाट ऋण लिने र अक्सनको व्यवस्था पनि गराइने हुनाले किसानलाई उल्लेख्य फाइदा पुग्ने उनको भनाइ छ ।

धान र मकैको उत्पादन बढेको तथ्यांक आएपनि किन्न खोज्दा पाइदैनः आनन्द बगरियाको अन्तर्वार्ता

निम्बस ग्रुप कृषि आधारित रहेर उद्योग चलाउने नेपालको प्रमुख व्यवसायिक घराना हो । यो घरानाले खासगरी कृषि प्रोसेसिङसँग सम्बन्धित उद्योग व्यवसाय सञ्चालन गर्दै आएको छ ।

भण्डारण कक्षको अभाव नै आजको मुख्य समस्या भएको उनको भनाइ छ ।

‘भण्डारण भएपछि किसानले आफ्नो उत्पादनको राम्रो मूल्य पाउँछन्,’ बगरियाले भने, ‘व्यवसायीले पनि भनेको समयमा आन्तरिक कृषि वस्तु पाउँछन् ।’

लागत के हुन्छ ?

बगरियाका अनुसार यो साइरो बेस्ड प्रणाली हो । यसमा किसानले आफ्नो माल ल्याउँछन् । ल्याव टेस्ट गराउँछन् । क्वालिटी सेट गराएर त्यहाँ राख्ने र रसिद लिएर जान्छन् । त्यसपछि दशौं जनाको बीचमा आपसमा खरिद बिक्री हुन सक्छ ।

तर त्यो माल हटाउनु पर्दैन् । यो सिधै त्यही बसिराख्छ र सिधै उपभोक्ताकहाँ पुग्छ । मिलले लैजाने होला, पपकर्न उद्योगले लैजाने होला । तर जान्छ ।

यसले अहिले किसानले समयमा पैसा नपाएर भारतमा बेचिदिने समस्या हटाउन सकिने उनको भनाइ छ ।


पुष्प दुलाल