बाग्मति प्रदेशले प्रदेश लोकसेवामार्फत् माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)



काठमाडौं । प्रदेश लोकसेवा आयोग, बागमती प्रदेशले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ ।

प्रदेश लोकसेवा आयोगले प्रदेश स्थानीय तहका विभिन्न सेवा, समूहका अप्राविधिक/प्राविधिकतर्फका पदहरूको आन्तरिक, खुल्ला तथा समावेशी प्रतियोगितात्मक गरी ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो ।

आयोगका अनुसार तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको वेवसाइटबाट दरखास्त फाराम डाउनलोड गरी फाराम भर्न सक्नेछन् ।

साथै, आवश्यक शैक्षिक योग्यता लगायतका कागजातहरू रेकर्ड फाइलमा सबै विवरण खुलाई राजश्व खातामा बुझाएको सक्कल भौचरसहित तोकिएको स्थानमा आवेदन फाराम दर्ता गराउन सक्नेछन् ।

प्रतियोगितात्मक परीक्षाबाट छनौट भएका उम्मेदवारहरूको रोजाई प्राथमिकता क्रमअनुसार प्रदेश तथा स्थानीय तह तोकी सिफारिस गरिने आयोगले जनाएको छ । यसरी सिफारिस भएका उम्मेदवारलाई सम्बन्धित प्रदेश र स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन् ।

परीक्षाको केन्द्र हेटौंडा
आयोगका अनुसार परीक्षा लिखित, कम्प्युटर सीप परीक्षण, प्रयोगात्मक र अन्तर्वार्ता हुने जनाएको छ । यसको परीक्षा केन्द्र भने बागमती प्रदेश, हेटौंडा तोकिएको छ ।

उक्त परीक्षाको दरखास्त दस्तुर खुलाका लागि ६ सय, समावेशी मात्र भर्नेका लागि ६ सय र थप समावेशी समूहका लागि प्रतिसमूह २ सय रुपैयाँ तोकेको छ ।

त्यसैगरी परीक्षार्थीहरूले बागमति प्रदेशका रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, चितवन, सिन्धुली, रामेछाप, दोलखा र काभ्रेपलाञ्चोक जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयहरू तथा काठमाडौं उपत्यकाको हकमा प्रदेश सुशासन केन्द्र, जावलाखेल, र मकवानपुर जिल्लाको हकमा आयोगको कार्यालय, हेटौंडामा दरखास्त बुझाउन सकिनेछ ।

तर, उम्मेदवारले परीक्षा सञ्चालन हुने दिन अगावै आयोगको कार्यालय, हेटौंडाबाट प्रवेशपत्र लिनुपर्नेछ । तर, परीक्षा भवनमा प्रवेशपत्र वितरण नगरिने आयोगले जनाएको छ ।

त्यसैगरी दरखास्त दिने अन्तिम मिति २०७७/८/८ गतेसम्म र दोब्बर दस्तुर तिरी २०७७/९/५ गतेसम्म तोकेको छ ।

जसमा उम्मेदवारको उमेरको हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै, महिला र अपाङ्ग उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । साथै, तलब तथा सेवा सुविधा प्रदेश र स्थानीय तहको प्रचलित कानून बमोजिम हुने आयोगले जनाएको छ ।


क्लिकमान्डु