गोलभेँडाले दोब्बर भाउ पाउँदा किसान खुशी   



सिद्धलेख । गत वर्ष उत्पादन कम र भाउ न्यून हुँदा धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका–४ गौँथलेका किसान निराश थिए ।

लगानीसमेत उठाउन धौ-धौ हुँदा डराइडराई तरकारी खेती गरेका उनीहरु यसपालि गोलभेँडाको दोब्बर मूल्य पाउँदा दङ्ग छन् । वातावरण अनुकूल हुँदा उत्पादन पनि झण्डै दोब्बर नै भएको किसान सुनाउँछन् ।

गोलभेँडाले नसोचेको भाउ पाउँदा माथिल्लो गाैथलेका ४७ वर्षीय कुलबहादुर थापामगरलाई खुशीको सीमा छैन ।

झण्डै दुई रोपनीमा खेती गर्नुभएका उनले थली बारीमा वृद्ध आमा र बालबालिकाको साथमा गोलभेँडा टिप्दै हुन्थे ।

‘यसपालि राम्रो भाउ पायो, प्रति किलो पचासबाट उँधो झरेकै छैन, किलोको सत्तरी÷असीसम्म आएको छ, धेरै खुशी छौँ ”, गोलभेँडा टिपेर डालोमा राख्दै उनले थपे, ‘पोहरको तुलनामा दोब्बर फलेको छ, भाउ पनि राम्रो छ ।’

गौँथले गाउँका रातमाटे पाटा अहिले लटरम्म गोलभेँडाले भरिएको छ । उहाँको बारीमा एक खेपमा २० क्रेट गोलभेँडा उत्पादन हुन्छ । त्यसैले गत वर्ष भाउ नपाएर निराz किसानको मुहार उज्यालिएको प्रष्ट झल्किन्छ ।

कुलबहादुरले पोहोर झण्डै रु एक लाख बुझेका थिए । त्यही जमिनमा यसपालि तीन छिमल टिप्दैमा रु एक लाख ५० हजार कमाइ भइसक्यो । अझै राम्रो फलेकाले दुई लाख आउँछ भन्नेमा उनी ढुक्क छन् ।  कोभिड–१९ ले बाहिरबाट आयात नहुँदा भाउ आएको किसानको अनुमान छ ।

गोलभेँडामात्रै होइन गाउँमा काउली, बन्दा, बोडी, मास, भटमास, कोदो पनि फल्छ । बस्तुभाउ बाख्रा पालनसमेत छ । उहाँको मास झण्डै दुई मुरी र भटमास एक मुरी उत्पादन हुन्छ । बीस वर्षदेखि तरकारी खेतीमा आबद्ध कुलबहादुर पहिलेको जस्तो दुःख नहुने सुनाउँछन् ।

मलेखुबाट त्रिशूली तरेपछि गाडीमा झण्डै एक घण्टाको कच्ची सडकको उकालो लागेपछि माथिल्लो गौँथले आइपुग्छ । तल्लो र माथिल्लो गौथलेमा राम्रो तरकारी खेती हुन्छ । यहाँको मौसम चिसो हुँदा उत्पादित तरकारीको स्वाद बेग्लै हुन्छ । किसान एउटै समस्या सिँचाइको अभाव रहेको बताउँछन् ।

कुलबहादुरले मात्रै तरबारी र पशुपालनबाट वार्षिक रु आठ/दश लाख कमाइ गर्ने गरेको सुनाए । विदेश जाने युवालाई नजान अनुरोध गर्ने उनी गरेदेखि यहीँ छ, अल्छी मान्नुभएन पसिना विदेश गए पनि चुहाउनै पर्छ भन्छन् ।

सो गाउँमा मगर जातिको मात्रै ३२ घर छ । सबै तरकारी खेतीमा मग्न छन् । अन्य समुदायको पनि पेशा खेती किसानी नै हो । छिमेकी लोकीमाया मगर पनि गोलभेँडा टिपेर बेच्नमै व्यस्त छिन । कति रोपनीमा गोलभेँडा रोपेको यकिन गर्न नसक्ने उनको दुई हलको मेलोमा छ ।  दुई क्विन्टलभन्दा बढी गोलभेँडा फलाउँछिन । यसपालि राम्रो भाउ पाएकामा उनी पनि फुरुङ्ग छिन् ।  गोलभेँडा बेच्ने तर्खर गर्दै गरेका  अर्का किसान गुञ्जबहादुर मगर विगतको भन्दा भाउ राम्रो आएकामा खुशी छन् ।

सिद्धलेख–४ का वडाध्यक्ष रामहरि बराकोटी पैसा लुकेर बसेको छ, टिप्न खोज्दैनन्, पैसा फल्छ झैँ गरेर विदेश जान्छन्, गरे यहीँ छ भन्छन् । गाउँका किसानले गरेको कमाइले पनि यो कुरा प्रष्ट पार्छ ।

उनका अनुसार वडामा ७७५ घरधुरी रहेको छ । त्यसमा ९० प्रतिशत कृषि, १० प्रतिशत बाह्य रोजगारी र केही अन्य व्यवसायमा आबद्ध छन् । गोलभेँडा, काउली, बन्दा, घिउसिमी, बोडी, पशुपालन यहाँको मुख्य पेशा हो । माथिल्लो भागमा बाख्रापालन राम्रो छ भने तल्लो भागमा गाई/भैँसी पालेर दूध बिक्री हुन्छ । मौसमअनुसार सबै क्षेत्रमा तरकारी खेती हुन्छ ।

गाउँमा रहेको साना किसान कृषि सहकारी संस्थाले किसानलाई ठूलो सहयोग गरेको उनको भनाइ छ । सहकारीसँग स्थानीय तहको समेत राम्रो समन्वय रहेकाले किसानलाई राहत भएको छ । संस्थालेले मात्रै वार्षिक रु २२ करोड बढी मूल्यको तरकारी सङ्कलन गर्ने गरेको छ ।

आफ्नो वडामा मात्रै ३०० परिवारलाई कुनै न कुनैरुपमा कृषि अनुदान दिइएको र सडक सञ्जाल, विद्यालय, खानेपानीमा सहयोग गरिरहेको वडाध्यक्ष बराकोटीले जानकारी दिए । उनका अनुसार गाउँमा ८० प्रतिशत घरधुरीमा एक घर एक धारा बनिसकेको र बाँकी २० प्रतिशतलाई पनि यही वर्ष पानी पु¥याउने लक्ष्य रहेको छ ।

यस गाउँपालिकामा चैत÷वैशाखका समयमा बेँसीभेग आरुबाससटार, दारिमटार, निबुवाटार, मझुवाटार र बुङचुङ क्षेत्रमा पकेटकै रुपमा तरकारी उत्पादन हुन्छ । हिउँदे मौसममा माथिल्लो आरुबास, भेँडाबारी, गौँथले, सलाङ मैदान, खोगफोक, द्वारथोक, चालिसे, वसन्त, इटपानी, झारलाङ्दीलगायतमा तरकारी खेती राम्रो हुने गरेको छ ।

किसानले उत्पादित तरकारी सलाङ्घाट बजारमा किसानले ल्याउँछन् । यसपछि सहकारीले काठमाडौँ, कास्की र चितवनमा पु¥याउने गरेको छ । यस क्षेत्रमा गोलभेँडा अत्यन्तै धेरै उत्पादन हुने गरेको छ । यहाँको गोलभेँडा अन्य क्षेत्रको तुलनामा चमकदार देखिने हुँदा भाउ राम्रो आउने गरेको छ ।


क्लिकमान्डु