लगानी बोर्डले गर्यो तीन जलविद्युत् आयोजनाका लागि साढे ३८ अर्ब बराबरको लगानी स्वीकृत



काठमाडौं । लगानी बोर्डले ३८ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

मंगलबार बसेको बोर्डको बैठकले सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने आयोजनाका लागि लगानी स्वीकृत गरेको हो ।

बोर्डका अनुसार कूल ७७.५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत् परियोजनाका लागि १७ अर्ब ६२ रोड ४० लाख रुपैयाँ , ५७ मेगावाटको हिमचुली दोर्दी परियोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँ र ६५ मेगावाटको दुधखोलाका लागि १० अर्ब ४३ करोड ६० लाख रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

तीन परियोजनाका लागि लगानी स्वीकृत गरिएको बोर्डले जनाएको छ ।

बैठकले विद्युत खपत सम्बन्धी कार्यायोजना सरोकार भएका निकायको सहमतिमा तयार पार्ने निर्णय गरेको छ भने बोर्डको कार्यालयको क्षमता वृद्धिको निर्णय समेत गरेको छ ।

यस्तै बोर्डको संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायसँग परामर्श गरी बोर्डको रणनीतितक योजना तयार गर्नेबारे समेत छलफल भएको छ ।

लगानीकर्तालाई एकल बिन्दु सेवा केन्द्रबाट सहज र शीघ्र सेवा प्रदान गर्न उक्त केन्द्रलाई स्वचालित बनाउने तथा ज्ञान व्यवस्थापन पोर्टलको स्थापना र उपयोग गर्ने विषयमा छलफल भएको छ ।


पुष्प दुलाल