क्यूआर कोड स्क्यान गरेर जुनसुकै बैंकका ग्राहकले प्रभु बैंकबाट नगद निकाल्न सक्ने



काठमाडौं । तपाईं बैंकमा भएको पैसा कसरी निकाल्नु हुन्छ ? पक्कै पनि चेक र एटीएममार्फत् नै ‘विथ ड्र’ गर्नुहुन्छ होला ।

त्यसबाहेक मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत् पेमेन्ट र पैसा ट्रान्सफर गर्नुहुन्छ होला ।

तर प्रभु बैंकले त्योभन्दा एक कदम अगाडि बढेर मोबाइलमा भएको एपबाट स्क्यान गरी क्यास विथ ड्र गर्ने सुविधा ल्याएको छ । बैंकिङ प्रणालीलाई डिजिटल बनाउने प्रयास स्वरुप बैंकले उक्त सेवा ल्याएको हो ।

बैंकले ल्याएको यो सेवाले अब ग्राहकले चेक र एटीएम नभए पनि बैंकमा भएको नगद झिक्न सक्नेछन् ।

बैंकका अल्टरनेभिट डेलिभरी च्यानलका हेड सुरेन्द्र चन्दका अनुसार ग्राहकले बैंकमा आएर स्क्यान गरेर आफ्नो खातामा भएको नगद निकाल्न सक्छन् ।

यो सुविधा प्रभु बैंकका ग्राहकलाई मात्रै नभइ जुनसुकै बैंकका ग्राहकले पनि प्रभु बैंकमा गएर मोबाइलमा भएको एपमार्फत् स्क्यान गरी नगद झिक्न सक्ने उनले बताए ।

हाल प्रभु बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता ५ लाखभन्दा बढी छन् । मुलुकभर मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोडभन्दा बढी पुगिसकेका छन् ।

‘प्रभु बैंकले ल्याएको क्यूआर स्क्यान प्रडक्टका माध्यमबाट जुनसुकै बैंकका ग्राहकले पनि प्रभु बैंकको कुनै पनि शाखामा गएर नगद झिक्न सक्छन्,’ बैंकका सेन्ट्रल अपरेसन हेड टंकनाथ निरौलाले थपे ।

निरौलाका अनुसार यो सेवा प्रभु बैंकका ग्राहकले सेवा प्रयोग गरेवापत कुनै शुल्क बुझाउनु पर्दैन भने अन्य बैंकका ग्राहकले भने निश्चित सेवा शुल्क बुझाउनु पर्छ ।

अन्य बैंकका ग्राहकहरुले बुझाउने अतिरिक्त सेवा शुल्क प्रभु बैंकले राख्दैन । सम्बन्धित बैंकले नै सेवा शुल्कवापत काट्छ ।

कोरोना भाइरसको महामारीका समयमा बैंकहरुले बैंकिङ प्रणालीलाई डिजिटलाइसेजन बनाउने क्रममा प्रभु बैंकले क्यूआर कोडका माध्यमबाट भुक्तानीको सुविधा ल्याएको हो । यस प्रकारको सुविधाले ग्राहकहरुलाई चेक र एटीएम बोकिरहनु पर्ने झन्झटबाट मुक्त गराएको छ ।

क्यूआर कोड स्क्यान गरी जति पनि पैसा निकाल्न भने पाइँदैन । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङका लागि तोकेको सीमाभित्र रहेर मात्रै रकम निकाल्न पाइन्छ ।

ग्राहकले सुविधा कसरी प्रयोग गर्ने ?

प्रभु बैंक तथा अन्य जुनसुकै बैंकका ग्राहकले आफ्नो खातामा भएको पैसा निकाल्न एटीएम र चेक बोकिरहनु पर्दैन ।

ग्राहकहरु प्रभु बैंकको देशभर सञ्चालनमा रहेका जुनसुकै शाखामा गएर क्यूआर कोर्ड स्क्यान गर्न सक्छन् ।

यसरी क्यूआर कोड स्क्यान गर्दा उनीहरुले आफूलाई झिक्नु पर्ने रकम टाइप गर्नुपर्ने हुन्छ । त्यसपछि टेलरमा आफ्नो आधिकारिक परिचय पत्र बुझाएर फारम भर्नुपर्ने हुन्छ ।

त्यसपछि टेलरले तपाईंले झिक्न चाहेको रकम यकिन गरी नगद भुक्तानी गर्छन् ।


पुष्प दुलाल