लोकप्रिय हाँस्य श्रृङ्खला ‘सक्किगोनी’ मंसिर २५ गतेदेखि हिमालय टीभीबाट प्रसारण हुने



काठमाडौं । नेपालको लोकप्रिय हाँस्य श्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टीभीबाट प्रसारण हुने भएको छ । कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला केही सातापछि हिमालय टीभीबाट प्रसारण सुरु हुने कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए ।

‘पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टीभीले गरेको लगानी र प्राथमिकताबाट हामी प्रभावित भयौं,’ निर्देशक कट्टेलले भने- ‘कार्यक्रमलाई अझै उचाईमा पु¥याउन हामीले हिमालय टीभीसँग सहकार्य थालेका छौं ।’

सक्किगोनी आगामी मंसिर २५ गतेदेखि हरेक बिहीबार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुने छ । शहरदेखि गाउँसम्म राती ८ बजे टीभी हेर्ने मुख्य समय भएकाले यही समयमा लोकप्रिय हाँस्य श्रृङखला प्रसारण गर्न लागिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए ।

‘सक्किगोनी’ टीमले आफ्नो सिर्जनशीलतालाई प्रमाणित गरिसकेको छ, लाखौं करोडौं मानिस सक्किगोनीका चरित्र र कलाकारसँग गहिरोसँग बाँधिएका छन’ कार्यकारी निर्देशक कडेलले भने- ‘यस्ता लोकप्रिय कलाकारहरुको टीमसँग काम गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।’

हिमालय टेलिभिजनको लगानीमा उत्पादन हुने सक्किगोनी श्रृङखलालाई जेपीटी क्रियशनले निर्माण गर्ने छ ।

हिमालय टेलिभिजनले पछिल्लो समय बजारमा पहिलो श्रेणीमा रहेका कार्यक्रमहरु उत्पादन एवं प्रसारण गर्दै आएको छ । द भ्वाइस अफ नेपाल, डान्सिङ वीथ द स्टार, हिमालय रोडिज लगायत अन्तराष्ट्रियस्तरमा नम्बर एक बन्न सफल कन्टेन्टहरुको उत्पादन तथा प्रसारण गरिरहेको छ ।


पुष्प दुलाल