१ रुपैयाँमा ‘होण्डा’ को मोटरसाइकल वा स्कुटर किन्न यस्तो छ प्रक्रिया



काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले ‘हर एक नेपालीलाई १ रुपैयाँमा होण्डा’ नामक योजना ग्राहकवर्गहरु माझ ल्याएको छ ।

कोभिड– १९ को यस विषम परिस्थितिलाई मध्यनजर गर्दै उत्सवको यस अवसरमा होण्डाले समस्त नेपालीहरु माझ खुसी साटासाट गर्ने उद्देश्यले यो योजनालाई नेपाली बजारमा ल्याएको हो ।

कम्पनीले गत असोज ११ गतेबाट लागू हुने यस योजना अविधिभर ग्राहकहरुले होण्डाको कुनै पनि बाइक वा स्कुटर मात्र १ रुपैयाँको डाउनपेमेन्ट वा १ रुपैयाँको इएमआई र १ प्रतिशतको ब्याजदरमा खरिद गर्न सकिने बताइएको छ ।

तर, सामान्य मानिसले अहिलेको जमानामा पनि एक रुपैयाँमै बाइक वा स्कुटर आउँछ त भन्ने प्रश्न गर्ने गर्छन । साथै, एक रुपैयाँमा बाइक र स्कुटर पाउने भन्दै बजारमा किन्नका लागि तम्सिएर जान्छन् । जसले गर्दा समाचारमा आएको र विज्ञापनले खुलाएको भन्दा भिन्दै पाउन सक्छौं ।

एक रुपैयाँमा कसरी स्कुटर वा बाइक किन्न सकिन्छ भने कतिपय मानिसलाई थाहा नहुन सक्छ । यसबारे सबैलाई थाहा नभएका कारण यसबारे प्रष्ट पार्न खोजिएको छ ।

यसका लागि स्कुटर वा बाइक किन्न इच्छुक व्यक्तिले एक रुपैयाँ डाउनपेमेन्टमा २४ महिनाको अवधि तोकेको हुन्छ । जसमा पहिलो चरणमा रेजिष्ट्रेसन फि, बीमा र सर्भिस चार्ज तिर्नुपर्ने हुन्छ । त्यसपछि बाइक वा स्कुटरको पूर्णमूल्यको ईएमआईमा परिवर्तन हुने गर्दछ ।

यसका लागि स्कुटर वा बाइक किन्न चाहने व्यक्तिले नागरिकताको फोटोकपी, पासपोर्ट साइजको फोटोकपी दुई वटा, लाइसेन्सको फोटोकपी, आम्दानीको स्रोतको चिठी, १२ महिना जागिर खाएको कम्पनीले पठाएको मासिक तलबको विरणका साथै उपत्यकामा आफ्नै घर भएमा वा नभएको खण्डमा उपत्यकामै घर भएको नातेदार जमानी चाहिन्छ ।

उक्त जमानी बसेको वा आफ्नै घर भएमा ग्राहकले एक महिना अगाडि तिरेको बिजुली तथा पानीको बिल आवश्यक पर्दछ । यसका साथै नातेदार वा जमानी बसेको व्यक्तिको पनि नागरिताको फोटोकपी, फोटो र अघिल्लो महिनामा तिरेको बिजुलीको बिल वा पानीको बिल आवश्यक पर्दछ ।

जसमा तपाईं पहिलो चरणमा बीमा, सर्भिस चार्ज र रजिष्ट्रेनको भनेर करिब १६ देखि २० हजारसम्म तिर्नुपर्ने हुन्छ । जस्तै, तपाईले होण्डाको डिओ स्कुटर किन्न चाहेको अवस्थामा पहिलो चरणमा १६ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यसपछि मासिकरुपमा ईएमआई साढे १० हजारभन्दा माथि तिर्नुपर्ने हुन्छ ।

कम्पनीले तोकेको ईएमआई तिर्नका लागि ईएमआर्ईभन्दा तीन गुणा मासिक तलब हुन आवश्यक पर्दछ । उदाहरणका लागि यदि तपाईको स्कुटर वा बाइक किन्दा महिनामा ११ हजार तिर्नुपर्ने कम्पनीले तोकेमा तपाईंको मासिक तलब ३३ हजार हुनुपर्दछ ।

यसमा कम्पनीले तोकेको ईएमआई तिर्नको लागि १ः३ को अनुपातमा मासिक तलब हुनुपर्छ । जसले गर्दा एक रुपैयाँ डाउनपेमेन्टमा किन्न इच्छु व्यक्तिको ३० हजारभन्दा माथि मासिक तलब आउने स्रोत हुनुपर्नेछ ।

कम्पनीले यी सबै कागजात प्रमाणित भई सकेपनि पीडिसी चेकको पनि आवश्यक पर्दछ । यसैगरी, किनिसके पनि स्कुटर वा बाइक किन्ने व्यक्तिले कम्पनीले तोकेअनुसारको पैसा मासिकरुपमा तिर्नुपर्ने हुन्छ । जसमा १६ प्रतिशत ब्याजदर तिर्नुपर्ने हुन्छ ।

यस्तै, नियमितरुपमा समयमै किस्ता तिर्न सकेका १३ प्रतिशत मात्रै तिर्नुपर्ने हुन्छ । यसको मतलब हरेक महिना १९ गते तिर्नुपर्ने छ भने १८ गतेसम्ममा तिरि सक्नुपर्नेछ । तर, मासिक रुपमा तिर्ने समयभन्दा ढिला भएको अवस्थामा दैनिक ३० प्रतिशतले किस्ता बढ्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु