तीन महिनाको कार्यकाल सुरु नहुँदै एसके तमोट जनरल इन्सोरेन्सबाट किन बाहिरिए ?



काठमाडौं । जनरल इन्स्योरेन्समा स्थापना कालदेखि नै महाप्रबन्धक एसके तमोट तेस्रो पटक पुनः नियुक्त शुरु नहुँदै कम्पनीबाट बाहिरीएका छन् ।

कम्पनीको कात्तिक १४ गते बसेको संचालक समितिको बैठकले उनलाई आगामी कात्तिक १८ गतेदेखि लागू हुने गरी माघ १८ गतेसम्म ३ महिनाको कार्यकाल थप गरेको थियो ।

तर कम्पनीले कार्यकाल थप गरेको चिठी कात्तिक १७ गतेसम्म आफूलाई नदिएको भन्दै कम्पनीबाट सबै कर्मचारीहरु सँग बिदा लिएर बाहिरीएको कम्पनी स्रोतले बताएको छ ।

‘तमोट जी,को थप गरिएको कार्यकाल भोलिबाट शुरु हुन्छ तर आजै नै उहाँले मेरो २ वर्षे कार्यकाल सकियो म्याद थप गरेको चिठी मैले प्राप्त गरेको छैन् भन्दै दिउँसो नै बिदा हुनु भयो,’ स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘अन्य शाखाका आफु निकट कर्मचारीलाई समेत आज केन्द्रीय कार्यलय बोलाएर उहाँले आजबाट मेरो जनरलमार्फत तपाइहरुसँगको सहकार्य सकियो भन्दै बिदा हुनु भएको हो ।’

तमोटले जनरल इन्स्योरेन्सको भाइबर, वास्टएप, फेसबुक लगाएत अन्य गु्रपहरुबाट समेत लिभ गरेको कम्पनी स्रोतको भनाइ छ ।

यता, कम्पनीका सुचना अधिकृत राम प्रसाद पौडेलले भने तमोट आज आफ्नो व्यक्तिगत समस्याका कारणले छिट्टै घर निस्किएको बताए ।

‘उहाँको श्रीमतीको स्वास्थ्य अवस्था अति खराब भएको भनदै कार्यालयबाट निस्किनु भएको हो, त्यस्तो बिदाइ नै हुनु भएको भने होइन,’ कम्पनी प्रवक्ता पौडेलले क्लिकमाण्डूसँग भने, ‘परिवारको स्वास्थ्य अवस्था सामान्य भएपछि उहाँ सायद कार्यालय आउनु हुन्छ होला ।’

तर कार्यकाल थप गरिएको विषयमा भने तमोट खुसी नभएको उनले बताए ।

‘बोर्ड उहाँलाई ३ महिना काम गर्न अनुरोध गरेको हो तर उहाँले मेरो शारिरीक अवस्थाका कारणले सक्दिन भन्नु भएको छ, ’ उनले थपे, ‘उहाँले बोर्डको अनुरोध मान्नु हुन्छ हुँदैन उहाँ कै हातमा छ ।’

बोर्डले सीइओ नियुक्त हुनेसम्म सहयोग गरिदिनु भनेर अनुरोध गरे तमोटले भने कोभिडका कारण आफु बजारमा निस्किएर व्यवसाय विस्तार गर्न नसक्ने, शरिरीक अवस्था समेत कमजोर भएको कारण अब दुःख नदिनुस् भन्ने जवाफ दिँदै कार्यकाल थप नर्ग भनेको कम्पनी प्रवक्ताले जानकारी दिए ।

तमोटको बीमा समितिले तोकेको विभागिय प्रमुख बन्ने उमेर हद समेत नाघिसकेको छ । समितिले २ वर्ष अघि बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७३ लाई परिमार्जन गरी ‘बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५’ लागू गरेको थियो ।

उक्त निर्देशिकामा बीमा कम्पनीमा प्रमुख कार्यकारी निर्देशक (सीइओ) को कार्यकाल, योग्यता र उमेरहद तोकिएको थियो । जसमा बीमा कम्पनीहरुका सीइओको शैक्षिक योग्यता, अनुभव तथा उमेरको हद ७० वर्ष तोकेको छ । तमोटले आफ्नो फेसबुकमा सन् १९४६ अगष्ट ३ मा जन्मेको उल्लेख गरेका छन् । जसअनुसार उनी हाल ७४ वर्ष पुगिसकेको हुन् ।


क्लिकमान्डु