नेगेटिभभित्र पोजेटिभ खोज्दा दुर्गा प्रसाईले जन्माए मार्सी ब्राण्डको बियर



काठमाडौं ।  दुईवर्ष अगाडिको कुरा हो नेकपा एमाले र एकीकृत नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेर दुई अध्यक्ष प्रणालीमा पार्टी चलाउने निर्णय भएको थियो ।

२०७४ सालको निर्वाचनमा एमाले र माओवादीले एकीकृत रुपमा निर्वाचन लडेर पार्टी एकीकरण गर्ने निर्णय गरेका थिए ।

कम्युनिष्ट गठबन्धनले करिब दुई तिहाई बहुमत ल्याएपनि पार्टी एकीकरण भएको थिएन । एकीकरणका केही बैठक मिडिकल कलेज संचालक दुर्गा प्रसाईको घरमा बसेको थियो । झापाको बिएण्डसी मेडिकल कलेजका संचालक प्रसाईले मेडिकल र घरजग्गाको लगानीलाई अब बियर उद्योगमा समेत विस्तार गर्ने भएका छन् ।

प्रसाईले नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’लाई एउटै टेबलमा खाना खुवाएको तस्बिर सामाजिक सन्जालबाट सार्वजनिक गरे ।

दुई अध्यक्षसँगै बसेर खाना मेडिकल संचालक प्रसाईले खुवाएका थिए । उनले नेपालको पहाडी क्षेत्र जुम्ला,कालिकोट तिर फल्ने मार्सी चामलको भात अध्यक्षद्वयलाई खुवाएका थिए ।

प्रसाईले मार्सी चामल खुवाएपछि सामाजिक संजालमा यो तस्बिर भाइरल नै भयो । दुर्गा प्रसाईको नाम नै मार्सी भयो । बजारमा मार्सी चामलको माग समेत ह्वातै बढ्यो । काठमाडौं लगायतका सहरी क्षेत्रमा होटलहरुले समेत मार्सी चामलको भात नै खुवाउन थाले । सिमित क्षेत्रमा मात्र रहेको र खासै बिक्री नहुँने मार्सीको बिक्रीको पछाडि दुर्गा प्रसाईको नै हात थियो ।

प्रसाईको व्यवसायिक आँखाले भने मार्सी ब्राण्ड चर्चित भएको देखेको थियो । त्यही व्यवसायिक आँखाले अब दुर्गा प्रसाईले मार्सी ब्राण्डमा बियर ल्याउने भएका छन् ।

‘मार्सी भनेर मलाई धेरैले सामाजिक संजालमा उडाए, मैले त्यही मार्सी ब्राण्डमा नै व्यापार गर्नुपर्छ भन्ने लाग्यो,’ प्रसाईले क्लिकमाण्डूसँग भने ।

आफु देशमा व्यवसाय गरेर रोजगारी सिर्जना गर्ने र सम्बृद्ध नेपाल बनाउने अभियानमा रहेको भन्दै प्रसाईले आफु समस्याबाट नभाग्ने खालको भएको बताए ।

‘मलाई क्यान्सर भयो,मैले क्यान्सर हस्पिटल खोले, अहिले दक्षिण एशियाको उत्कृष्टमा पर्छ,’ प्रसाईले दाबी गरे ।

मार्सी ब्राण्डमा कुनै उपभोग्य वस्तु ल्याउने सोचमा रहेका प्रसाईलाई टाइगर ब्रुअरी प्रालिका तेजेन्द्र खड्का साथ दिन आइपुगे ।

टाइगर ब्रुअरीबाट टेन्सबर्ग,लण्डन आइस लगायतका वियर उत्पादन बजारमा ल्याएका खड्काले बियर बजारमा प्रभुत्व बढाउनको लागि पार्टनरको खोजीको थिए । पार्टनर बन्न आइपुगे मेडिकल कलेजका संचालक प्रसाई ।

प्रसाईले टाइगर ब्रुअरीमा ५० प्रतिशत सेयर स्वामित्व किनेका छन् । अब टाइगर ब्रुअरीमा प्रसाईको स्वामित्व ५० प्रतिशत हुन्छ भने खड्काको ५० प्रतिशत ।

‘अब सेयर नामसारीको प्रक्रियामात्र बाँकी रहेको छ,त्यो पनि केही दिनमा हुने छ,’ प्रसाईले भने ।

प्रसाईले कर्णालीको मार्सी चामल नै प्रयोग गरेर बियर ल्याउने जानकारी दिए । ‘ टाइगर ब्रुअरीले गतवर्ष अर्ब रुपैयाँ कर तिरेको छ,आगामी वर्ष १० अर्ब रुपैयाँ तिर्ने गरेर हामीले लगानी गर्ने छौ,’ प्रसाईले भने ।

प्रसाईले १० अर्ब रुपैयाँ थप बियर उद्योगमा लगानी गर्ने र बियरमा चाइने कच्चा पदार्थ खास गरेर जौको समेत यहा ठूलो मात्रामा उत्पादन गर्ने लक्ष्य भएको बताए ।

‘म नेगेटिभभित्र पोजेटिभ खोज्ने मान्छे हो,मलाई धेरैले मार्सी भने माफिया भने नेगेटिव कुरा गरे, मैले त्यसमा पोजेटिभ देखे त्यही कारण मार्सी बियर ल्याउन लागेको छु,’ प्रसाईले भने ।

तिहार अगाडि टाइगर ब्रुअरीले उत्पादन गरेको मार्सी ब्राण्डको बियर नेपालमा लन्च हुने छ ।


क्लिकमान्डु